उत्तर कोरियाली नेतालाई मङ्गोलियाको निम्तो

admin

उलानबटोर, ३० असोज (रासस/एएफपी) : उत्तर कोरियाली नेता कीम जोङ अनलाई मङ्गोलिया भ्रमणका लागि निमन्त्रणा गरेको मङ्गोलियाका एक उच्च अधिकारीले बताएका छन् ।

मङ्गोलियाले नेता कीम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दोस्रो शिखर बैठकका लागि यो आमन्त्रण गरेको हो । दुवै नेताबीच गत जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो । दोस्रो शिखर बैठकको स्थान र मिति अझै तय भइसकेको छैन ।

मङ्गोलियाली राष्ट्रपति खल्टमा बाटुल्गाको कार्यालयका अनुसार कीमलाई गत अक्टोबर १० मा निमन्त्रणा पठाइएको छ । तर निमन्त्रण पत्रमा भ्रमणको मिति खुलाइएको छैन ।

उत्तर कोरियाली नेताले आफूलाई अनुकूल हुने समयमा भ्रमण गर्न सक्नुहुनेछ, राष्ट्रपति कार्यालयका अधिकारीले बताएका छन् ।

मङ्गोलियाले यसअघि पनि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमबीच पहिलो शिखर बैठकका लागि प्रस्ताव गरेको थियो, तर दुवै नेताले सिंगापुरमा बैठक गर्ने सहमति जनाएका थिए । राष्ट्रपति ट्रम्पले गत साता तीन वा चारवटा स्थान पहिचान गरिएको बताउनुभएको थियो ।

कीमले सन् २०११ मा सत्ताको बागडोर सम्हालेयता यसै वर्ष चीनको तीनपटक भ्रमण गर्नुभएको छ ।

चीन र रसियाबीचमा रहेको प्रजातान्त्रिक मुलुक मङ्गोलियाको उत्तर कोरियासँगको सम्बन्ध निकै प्रगाढ रहेको छ । यसै वर्ष दुई मुलुकले दौत्य सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठ मनाएका छन् ।

कीमका हजुरबुबा एवं उत्तर कोरियाका संस्थापक कीम इल सुङले सन् १९८८ मा मङ्गोलियाको भ्रमण गर्नुभएको थियो । अक्टोबर २०१३ मा मङ्गोलियाका तत्कालीन राष्ट्रपति चाखिया एल्बेगदोर्जले प्योङयाङको भ्रमण गर्नु भएको थियो ।

करिब एक हजार २०० उत्तर कोरियालीहरु गत वर्षको अन्त्यसम्म मङ्गोलियामा कार्यरत रहेका थिए । तर संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियामाथि प्रतिबन्ध लगाए पश्चात उनीहरु प्योङयाङ फर्केको विश्वास गरिन्छ ।

प्रतिक्रिया