उन्नत तोरीको बीउ वितरण

admin

दाङ, २६ असोज : तोरीखेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले यसवर्ष यहाँका किसानलाई ३० क्वीन्टल उन्नत जातको तोरीको बीउ अनुदानमा उपलब्ध गराएको छ ।

उपमहानगरपालिका भित्रका १९वटै वडाका ६९५ किसान, १३ कृषक समूह र तीन सहकारीलाई सो बीउ वितरण गरिएको उपमहानगरपालिकाका कृषि अधिकृत तिलक केसीले जानकारी दिनुभयो । सबैभन्दा बढी अनुदानको बीउ वडा नं १ र २ का किसानले लिएका छन् । उक्त बीउको मूल्य प्रतिकेजी रु ५५ निर्धारण गरिएको छ ।

कृषि विकास कार्यालयले पनि उक्त उपमहानगरपालिका–१२ को उरहरीमा बीउ उत्पादन कार्यक्रम शुरु गरेको छ । बीउ उत्पादनको जिम्मा पशुपति आत्मनिर्भर सहकारी संस्थालाई दिइएको छ ।

जिल्लामा १७ हजार ८८५ हेक्टर जग्गामा तोरीखेती, एक सय हेक्टरमा रायो, एक सय हेक्टरमा सस्र्यु, २५० हेक्टरमा आलस, र २०३ हेक्टरमा सूर्यमुखीको खेती हुदै आएको सरकारी तथ्याङ्क छ । उक्त उपमहानगरपालिकामा ४२ हेक्टर जमिनमा तोरीखेती हुँदैआएको छ । । जिल्लामा गतवर्ष १८ हजार ८०० मेट्रिक टन तोरी उत्पादन भएको थियो ।

धान काट्ने चटारो

देउखुरी क्षेत्रका किसानलाई यतिखेर धान काटने चटारो छ । अहिले त्यहाँका अधिकांश क्षेत्रका किसान बिहानैदेखि आ–आफ्ना खेतमा लगाएको धान काट्न व्यस्त देखिन्छन् ।

सो क्षेत्रमा सिँचाइको सुविधा हुँदा समयमै किसानले धान रोपेकाले जिल्लाको अन्य क्षेत्रको तुलनामा त्यहाँ चाँडै नै धान पाकेको छ भने अन्य ठाउँमा भने अझै धान पाकिसकेको छैन् । दशँै भित्रिसके पनि यतिखेर बिहानैदेखि बेलुकासम्म किसान धान काट्न र दाइँ गर्न लागेका देखिन्छन् ।

बिहान ७ बजे नै खेतमा धान काट्न आउने गरेको र बेलुका ६ बजे मात्र घर फर्कने गरेको बताउनुहुन्छ लमही नगरपालिका–५ घुम्नामा धान काट्दै गरेकी धमकली चौधरी ।

उहां भन्नुहुन्छ, “धान पाकेर ढलेको छ, लामो समय भयो पानी परेको छैन यदि पानी परिहाले पाकेको धानलाई नोक्सान गर्दछ, त्यसैले दशँै आए पनि चाँडै घरमा धान भित्र्याउन अहिले धान काट्न व्यस्त छौ ।”

धान काट्न उहाँसँगै उहाँका परिवारका पाँच सदस्य सहभागी थिए । त्यसैगरी लमहीको बलरामपुरका खुशी चौधरी पनि आफ्नो खेतमा धान काट्न व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “छोराछोरी पढ्न गएका छन्, श्रीमती गाई चराउन गएकी छिन् त्यसैले एक्लै धान काट्नु परेको छ ।”

अहिले धमकली र खुशी मात्र होइन देउखुरीका अधिकांश किसान धान काट्न र दाइँ गर्न दिनभर नै खेतमा व्यस्त छन् । दाङको देउखुरी क्षेत्रमा तीन गाउँपालिका र लमही नगरपालिका छ ।

अधिकांश क्षेत्रमा सिँचाइ सुविधा पुगेकाले त्यहाँ धानखेती राम्रो भएको हो । देउखुरी क्षेत्रमा मात्र १५ हजार हेक्टर जमीनमा धानखेती हुने गरेको सरकारी तथ्याङ्क छ । यसपटक त्यहाँका किसानले राधा ४, मनसुली, जीरा मन्सुली विन्देश्वरी लगायत जातको धानखेती गरेका थिए । नारायणी रजौरे, रासस

प्रतिक्रिया