एक लाख घुससहित हवल्दार पक्राउ

admin

काठमाडौँ, २ मङ्सिर: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडाबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजरालाई रु एक लाख घुससहित पक्राउ गरेको छ । प्रहरी हवल्दार हजारलाई कलैया उपमहानगरपालिका–१ देवकीलाल धर्मशालाबाट नियन्त्रणमा लिएको हो । पान तथा मसलाजन्य पदार्थ विभिन्न ठाउँमा पठाउन सहज गरिदिने बहानामा सेवाग्राहीसित घुस रकम माग गरिररहेको भन्ने सूचना एवं उजुरीका आधारमा हवल्दार हजरालाई नियन्त्रणमा लिएको अदुअआका प्रवक्ता रामेश्वर दङ्गालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी अख्तियारले विदेह मिथिला क्षेत्र (सर्लाही, महोत्तरी, धनुषा र सिन्धुली) पर्यटन समितिअन्तर्गतका तत्कालीन उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश यादव, अजयकुमार यादव तथा पर्यटन कार्यालय जनकपुरका ओभरसियर अनिरुद्र मण्डलका विरुद्धमा विशेष अदालत काठमाडौँमा कात्तिक ३० गते आरोपपत्र दायर गरेको छ । रामजानकी मन्दिर पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाशविरुद्धमा बिगो रु एक लाख ३५ हजार, ब्रह्मस्थान ब्रह्मवाको पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयकुमारविरुद्ध रु एक लाख ३१ हजार तथा पर्यटन कार्यालय जनकपुरका ओभरसियर अनिरुद्रविरुद्ध रु दुई लाख ६६ हजार बिगो दाबीसहित आरोपपत्र दायर गरिएको छ ।

तत्कालीन विदेह मिथिला क्षेत्र पर्यटन समितिका तत्कालीन अध्यक्ष दीपेन्द्रकुमार यादवले आर्थिक वर्ष २०६७÷६८ मा अर्थ मन्त्रालयबाट प्रकाशित रातो किताबमा उल्लेखित बजेटअनुसार काम नगरी आफू अनुकूलको उपभोक्ता समिति निर्माण गरी तथा निर्माण कार्य नै नगरी नक्कली बिल भौचर बनाई ठूलो रकम भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा उनीहरुलाई दायरपत्र गरिएको विज्ञप्तिमा जनाइएको छ ।
-रासस

प्रतिक्रिया