एनपिएल प्रिमियर लिग हुने

admin

बैतडी, २९ असोज : निगलाशैनी प्रिमियर लिग(एनपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी कात्तिक ८ गतेदेखि देहीमान्डौँमा गरिने भएको छ ।

निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) को आयोजनाका उक्त प्रतियोगिता सञ्चालन गरिने आयोजकले आज पत्रकार सम्मेलनमार्फत जनाएको छ । कात्तिक १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १२ टोलीको सहभागीता रहने क्लबका अध्यक्ष महेश भण्डारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम पुरस्कार रु एक लाख ११ हजार १११ र ट्रफीसहित प्रमाणपत्र तथा द्वितीय पुरस्कार रु ५५ हजार ५५५ ट्रफीसहित प्रमाणपत्र दिइने छ । उत्कृष्ट एक खेलाडीलाई रु ११ हजार १११ ट्रफीसहित प्रमाणपत्र, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदीयमान खेलाडी एकएक जनालाई जनही रु पाँच हजार ५५५ पुरस्कार दिइने बताइएको छ ।

प्रतियोगितामा सर्वाधिक छक्का प्रहार गर्ने एक जनालाई रु दुई हजार २२२, सर्वाधिक चौका प्रहार गर्ने एक जनालाई रु एक हजार १११ र सर्वाधिक क्याच गर्ने एक खेलाडीलाई रु एक हजार १११ सहित पुरस्कार प्रदान गरिने छ । अनुशासित एक टोलीलाई ब्याट, ट्रफी र प्रमाणपत्र तथा प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई ट्रफी र प्रमाणपत्र दिइने छ । प्रतियोगितालाई चार समूहमा विभाजन गरी खेलाइने जनाइएको छ । रासस

प्रतिक्रिया