ओली सरकारको ७ महिने कार्यकालमा असफलताका संकेतहरु देखा परे : खड्का

admin

काठमाडौं, २ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार असफलतातर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘स्वयम नेकपाकै शीर्ष नेताहरुले सरकारको आलोचना गरिरहनुभएको छ । ७ महिनाको यो छोटो कार्यकालको संकेत हेर्दा हामीले अनुमान गर्न सक्छौं । अहिले धेरै ठूलो दबाब र उकुसमुकुसका साथ नेकपाकै नेताहरुले पनि सरकार असफलतातर्फ उन्मुख छ भनेर भन्नुभएको छ । उहाँहरुले ओली नेतृत्वको सरकार क्रमिक रुपमा असफलतातर्फ उन्मुख छ भन्नुभएको छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘केही दिन अगाडि, व्यवस्थापिका संसदको अन्तिम बैठकको दिन नेकपाकै बरिष्ठ नेता माधवजीले पनि जहाज डुब्नै लाग्यो कोही आएर बचाईदेउन भनेर गीत गाउनुभयो । मलाई लाग्छ त्यो उहाँले बोल्नैपर्ने भएर होला बाध्य भएर बोल्नुभएको हो । हिजो अस्तीमात्रै पनि म मिडियामा सुन्दैछु की पूर्वप्रधानमन्त्री एवम् नेकपाका नेता झलनाथजीले पनि सरकार असफल भयो भन्नुभएको छ । प्रचण्डजीको पनि बोली सकारात्मक छैन् । सरकारको कामकारबाहीबारे नेकपाभित्रै व्यापक असन्तुष्टि छ।’
उनले यो ७ महिनाको कार्यकालको समिक्षा हेर्दा वर्तमान सरकार असफलतातर्फ उन्मुख रहेको संकेतहरु देखा परेको स्पष्ट पारे । उनले भने,‘तर, म व्यक्तिगत रुपमा सरकारको सफलताको कामना गर्दछु । म असफल होस भन्न चाहँदिन् ।’

ठूलो–ठूलो कुरा गरेर गरिब, निमुखा जनतालाई आशामा अल्झाउन नहुने उनको तर्क छ । उनले भने,‘कहिले रेल आउला भनेर गरिब जनतालाई कुनै मतलब छैन् । यसले उनीहरुलाई आकर्षण गर्दैन् । दैनिक जिविकाको बारेमा मात्रै जनतालाई ध्यान छ । तर, सरकारले महँगी, भ्रष्टाचारलगायतमा खोई त अनुगमन गरेको ?’

नेता खड्काले बहुसंख्यक जनता सरकारको प्रस्तुतिबाट निराशातर्फ उन्मुख रहेका पनि बताए । उनले भने,‘बलात्कारपछि निर्मला पन्तको हत्या भयो । प्रधानमन्त्रीले निर्मलाको हत्यारा पत्ता लगाउन १२ वर्ष लाग्नसक्छ भन्नुभयो । यस्तो गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति प्रधानमन्त्रीजस्तो व्यक्तिले दिने हो ?’
यद्धपी उनले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध भने सुधार गरेको भन्दै प्रधानमन्त्री ओलीको प्रशंसा गरे । उनले भने,‘हेर्नुहोस्, विपीले पनि अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्नुभएको थियो । उहाँको सरकारपनि दुई तिहाई बहुमतको थियो । १८ महिनामै सरकार ढल्यो । कहीँ ओलीजीको पनि नियती त्यस्तै नहोस् । अब भाषणबाजी गरेर देश चल्दैन् । जनताले डेलिभरी खोजेका छन् । मुल्यवृद्धि नियन्त्रण गर्नुपर्छ ।’
सरकारले ५ वर्षसम्म राम्रो काम गरोस् भन्ने आफूहरुको चाहना भएको खड्काको भनाई थियो । फरक प्रसँगमा उनले बुढीगण्डकी गेजुवालाई दिनु गलत भएको भन्दै विरोध जनाए । उनले भने,‘कुनै तयारी नै नगरी किन दिईयो ? हचुवाको भरमा निर्णय गर्नुहुँदैन् ।’ उनले वाईड बडी खरिद प्रकरणमा पनि ठूलो भ्रष्टाचार भएको कुरा सुन्नमा आएको बताए ।

सरकारले आफूहरुसँग कुनै छलफल तथा सम्वाद नै नगरेको भन्दै उनले गुनासो पोखे । उनले भने,‘प्रधानमन्त्री भारत, चीन र संयुक्तराष्ट्र जानुभयो । संयुक्त राष्ट्रसंघ जानुभन्दा पहिले देउवाजीसँग डाईलग गरेको भए हुन्थ्यो । अमेरिकाबाट कोष्टारिकापनि जानुभयो । १८ देखि २० करोड खर्च भयो । तर, भ्रमण दलमा प्रतिपक्षी दलका सांसदहरुलाई समावेश गर्नुभएन् । प्रधानमन्त्रीले सम्वाद नै गर्नुभएन् ।’
दुई तिहाईको बहुमत भएरमात्रै नहुने बताउँदै उनले सरकारले राजनीतिक, धार्मिक, आर्थिक र विदेश नीतिलाई सन्तुलनमा राख्न सक्नपर्नेमा जोड दिए ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले सरकारको ७ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् । उनले भने,‘सरकार रात दिन काम गरिरहेको छ । सरकारबाट अहिलेसम्म अलोकप्रिय काम भएको छैन् । आजको भोलि नै सबै काम हुँदैन् । समय लाग्छ । ५ वर्षमा गर्ने काम आजै हुँदैन् ।’
नेता बडालले अप्राकृतिक मुल्यवृद्धि यदि भएको छ भने सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताए । उनले भने,‘सरकारको विकल्प खोज्दा अस्थिरता निम्तिन्छ । सरकारलाई सफल बनाउनको लागि सबैको सहयोग चाहिन्छ । राष्ट्रको समृद्धि, निर्माण र विकास एकल पार्टीले गर्न सक्दैन् । एकतावद्ध प्रयास भयो भने देशको समृद्धि सम्भव हुन्छ।’
उनले मन्त्रिमण्डल फेरबदल गर्नुभन्दापनि गल्ती गर्ने मन्त्रीहरुलाई कारबाही गर्नुपर्ने सुझाव दिए । उनले भने,‘मन्त्रिमण्डल फेरबदल गरेर हुँदैन् । यदि कसैले गल्ती गरेको छ भने कारबाही गर्नुपर्छ ।’

त्यस्तै उनले ७ महिनाको सरकारको कार्यकालमा सफल भएको पनि दाबी गरे । यो ७ महिनामा सरकारले सम्पूर्ण ऐन तथा कानूनहरु पारित गरेको, चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेको, भारतसँग थप हवाई रुटको सम्झौता गरेको, तराई डुबानको समस्या न्यून गर्न भारत सकारात्मक बनेको, विराटनगरमा रहेको फिल्ड अफिस हटेको लगायतका फेहरिस्त सुनाउँदै सरकार सफल भएको आधारहरु सुनाए ।
राष्ट्रिय महत्वको विषयमा सबैबीच सहकार्य र सहमति हुन आवश्यक रहेको छ । उनले भने,‘सरकारले साँच्चिकै गल्ती गरेको छ भने विरुद्धमा उत्रिनुपर्छ । तर, अनावश्यक विरोध गर्नुहुँदैन् । राष्ट्रिय स्वाधिनता, अखण्डता, एकता, सार्वभौमिकता, संविधान कार्यान्यवयन र सामाजिक न्यायको काममा सबै दलहरुबीच हातेमालो हुन जरुरी रहेको उनले सुनाए ।
फरक प्रसँगमा उनले सरकार संविधान संशोधन गर्न तयार रहेको सुनाए । तर, राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकताजस्ता विषयमा उदारता हुन नसक्ने उनले जिकिर गरे । उनले भने,‘जरुरी विषयमा मात्रै संविधान संशोधन हुन्छ । विभेद छ भने त्यसलाई संशोधन गर्नुपर्छ । सिमित व्यक्तिको फाईदाको लागि केन्द्रित हुनुहुँदैन् ।’
राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले छठसम्मपनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका छन् ।
उनले भने,‘स्वयम् प्रधानमन्त्रीजीले संविधान संशोधन गर्छु भनेर कन्भिन्स गर्नुभएको छ । हामीले संशोधनको लागि धेरै पटक सरकारसँग सम्झौता गरेका छौं । तर, अहिलेसम्म संशोधन भएको छैन । अहिलेपनि प्रधानमन्त्रीले संविधान संशोधन गर्छु भनेर हामीलाई कन्भिन्स गर्नुभएको छ। छठसम्म हाम्रो समर्थन जारी रहन्छ । छठपछि पनि संशोधन भएन भने हामी समर्थन फिर्ता लिएर आफ्नो तरिकाले अघि बढ्छौं ।’

मण्डलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले महँगी, भ्रष्टाचार र बेथितिलाई नियन्त्रण गर्न नसकेको पनि आरोप लगाए । उनले भने,‘दुई तिहाईको सरकार गठन भएको छ । जनताले धेरै ठूलो अपेक्षा राखेका थिए । तर, अहिले सरकारको प्रस्तुति हेर्दा सन्तोषजनक छैन । कर मनलाग्दी उठाउने गरेको छ । यसले जनतामा निराशा छाएको छ। करको बोझ अब जनताले धेरै व्यहोर्न सक्दैनन् । नेपालमा भ्रष्टाचार यसरी मौलाएको छ की संसारमै नेपाल भ्रष्टाचारमा पहिलो नम्बरमा छ । देशमा सुशासन छैन् । उथलपुथल देखिएको छ । अराजकता त्यस्तै बढिरहेको छ ।’
आफूहरुले पनि सरकारसँग धेरै आशा राखेको बताउँदै उनले भने,‘शान्ति स्थापना गर्नुपर्छ । यसो भयो भने विकासले तिव्रता लिन्छ । तर अहिले ठीक उल्टो भैरहेको छ । सरकारले यसमा विशेष ध्यान दिनुपर्छ ।’ ५१ प्रतिशत जनसंख्या ओगटेको तराई मधेशलाई कुनैपनि हालतमा उपेक्षा गर्न नहुने उनको भनाई छ । उनले भने,‘तराई मधेशलाई उपेक्षा गर्नुहुँदैन् । उपेक्षा गरियो भने शान्ति हुँदै्न । शान्ति भएन भने मुलुकको विकास हुँदैन् ।’

संविधानका विभिन्न धाराहरु अहिलेपनि विभेदकारी रहेको बताउँदै उनले त्यस्ता विभेदकारी धाराहरुलाई संशोधनमार्फत सच्याउनुपर्नेमा उनको जोड थियो । उनले भने,‘संविधानको प्रस्तावना, धारा ४२ र धारा ५० मा समावेशी, समानूपातिकको बारेमा उल्लेख गरिएको छ। तर, कार्यकारी धाराहरु २६७, २७१, २७३, २८१, २८२ र २८३ र अन्यमा समेत समावेशी छ । तर, समानुपातिक उल्लेख गरिएको छैन । यो विभेदकारी भएकोले सच्याउनुपर्छ ।’

प्रतिक्रिया