कपिलवस्तुको कृष्णनगर तनावग्रस्त, ५ बजेदेखि अनिश्चिककालीन कर्फ्यु

admin

कपिलवस्तु, ४ कात्तिक: सीमा बजार कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा विवाद हुँदा तनावग्रस्त बनेको छ । शान्ति सुरक्षा कायम गर्न आइतबार साँझ ५ बजेबाट कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ । स्थिति सहज भएपछि कर्फ्यु हटाइने प्रजिअ अर्जुन पोखरेलले बताए । आइतबार दिउँसो १२ बजेतिर मूर्ति विसर्जन गर्न लैजाने/नलैजाने पक्षबीच विवाद भएको थियो। विवादले उग्ररुप लिएपछि आइतबार प्रहरीले ६ राउण्ड हवाई फायर गरेको थियो। ३ राउण्ड अश्रु ग्यास फायर गरेको थियो। लाठी, हसिया र चक्कु सहित निस्केका प्रर्दशनकारी प्रहरी माथि जाई लागेका थिए। प्रहरीले सम्झाईबुझाई गर्दा नमानेपछि लाठी चार्ज गरेको थियो। लाठी चार्जबाट स्थिति नियन्त्रणमा लिन नसकेपछि फायर खोल्नु परेको जिल्ला प्रहरीका डिएसपी रवि रावलले बताए।

शुक्रबारदेखि कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन हुन सकेको छैन। शुक्रबार साझ ६ बजेतिर दुर्गा मूर्तिलाई बजार परिक्रमा गरि गोलघर तिर लैजाने क्रममा घरको छतबाट ढुंगा प्रहार गरेपछि विवाद सुरु भएको हो। त्यसपछि विसर्जनका लागि बजार परिक्रमा गराउँदै गरेको २७ दुर्गा मूर्ति गोलघर छेउ राखिएको छ। ३ दिनदेखि मूर्ति विसर्जन हुन सकेको छैन। सुरुका दिन साँझ मूर्ति परिक्रमा गराउँदा ढुंगा प्रहार गर्ने ३ जनालाई कारबाही हुनु पर्ने दुर्गा मूर्ति पक्षधरले माग गरेका छन्। उनीहरुको नाम समेत किटान गरि दिइएको छ। ढुंगा प्रहार गर्नेलाई पक्राउ गरि कारबाही गर्ने सहमति शनिबार साँझ भएको थियो।

त्यसपछि दुर्गा मूर्ति विसर्जन गर्न लैजाने क्रममा आइतबार फेरि विवाद भयो। दुर्गा मूर्ति विसर्जन पक्षले पूर्व सांसद स्व. मिर्जादिलसाद बेगको घर अघिकोबाटोबाट हुँदै लैजान पाउनु पर्ने माग गरेका छन्। तर अर्को पक्षले उक्त बाटो भएर लैजान नदिने अडान लिएका छन्। सुरक्षा सर्तकता कडा गरिएको छ। चन्द्रौटा, तौलिहवा, दाङ र बुटवलबाट नेपाल प्रहरी र सशस्त्रका थप बल पुगेको छ। स्थिति सहज बन्दै गएको सशस्त्र नायव उपरिक्षक मनोज धितालले बताए।

प्रतिक्रिया