कान्तिभैरव गुरुकुललाई देउसी भैलोबाट रु दुई लाख सात हजार सहयोग

मनिषा थापा

काठमाडौँ, १ मङ्सिर  :  एक दशक अघिदेखि पठनपाठन आरम्भ भएको गोकर्णेश्वर नगरपालिका–४ उत्तरवाहिनीस्थित कान्तिभैरव गुरुकुललाई देउसी भैलोबाट रु दुई लाख सात हजार सहयोग जुटेको छ । दाताले दिएको दानदातब्यबाट गुरुकुल सञ्चालन हुँदै आएको छ ।

देउसी भैलौबाट उठेको रकम गुरुकुलमा अध्ययनरत १५० विद्यार्थीको आवास, खानपान र शैक्षिक सामग्री जुटाउन उपयोग गरिनेछ । देशका विभिन्न भागबाट आई गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई गुरुकुलले निःशुल्क आवासीय सुविधासहित शिक्षा दिँदै आएको छ ।

देउसी भैलो कार्यक्रममा लोप हुन लागेका भजनलगायत सांस्कृतिक झाँकी प्रस्तुत गरिएको गुरुकुलका आचार्य श्रीराम अधिकारीले राससलाई जानकारी दिनुयभो । गुरुकुलमा कार्यरत आचार्य र कर्मचारीको तलब पनि दाताले दिने दानबाट नै व्यवस्था मिलाइँदै आइएको छ ।

प्राचीनकालमा घरघरबाट मुठी दान लिएर गुरुकुलहरु सञ्चालन हुने गरेका थिए । आधुनिक शिक्षाको प्रभाव बढेसँगै गुरुकुल शिक्षा दिने क्रम घट्न थालेको छ । गुरुकुलमा वेद, ब्याकरण, ज्योतिष, कर्मकाण्डलगायत शास्त्रीय शिक्षा दिइन्छ । गुरुकुलमा २०७० मङ्सिरदेखि विश्व शान्तिको सङ्कल्पले दैनिक वैदिक रुद्राभिषेक भइरहेको छ ।

रुद्राभिषेकमा दैनिक २५ जना ब्राह्मण बटुक सहभागी हुने गरेका छन् । गुरुकुलका विद्यार्थी विश्वव्यापी संस्कृत भाषाको ‘ए लेभल’ परीक्षामा पनि सहभागी भएको छन् । हालसम्म यो परीक्षाबाट सातजना विद्यार्थी उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण भएको आचार्य अधिकारीले सुनाउनुभयो । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयसँगको सहकार्यमा यो परीक्षा ब्रिटिश काउन्सिलले लिने गरेको छ । रासस

प्रतिक्रिया