कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल भन्छन् : ‘राँगाको मासु खानलायक छैन’

admin

काठमाडौं, २६ असोज :  कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले काठमाडौंमा मासुबारे अलिक बढि सचेत हुनुपर्ने बताउँदै मन्त्रालयले मासुको नियमन गरिरहेको बताए । उनले भने,‘काठमाडौंमा राँगाको मासु खानलायक छैन । अरु मासुपनि व्यवस्थित् छैनन्।’
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हामीले काठमाडौंमा मासुको अनुगमन गिरिरहेका छौं ।

नेपालमा मासुको प्रयोग बढि नै हुने गरेको छ । तर, नियमन भने हुन सकेको छैन् । राँगाको मासुको सन्दर्भमा निकै नै अप्ठ्यारो स्थिति छ । काठमाडौंमा दैनिक ३५० देखि ४०० सम्म राँगा बध गरिन्छन् । बध गर्ने मुख्य २० वटा ठाउँ छन् । तीमध्ये ५ वटामा अनुगमन गर्दा ४ गुणस्तर नपाएकोले हामीले अहिले ४ वटामा सिलबन्दी गरिसकेका छौं । राँगाको मासु काट्ने ठाउँमा आम उपभोक्ताको पहुँच हुँदैन् । तर, खसी, कुखुरा, भेडा र च्याङ्ग्राको स्थिति अलिक फरक छ । त्यहाँ उपभोक्ताको सहज पहुँज हुन्छ । प्रत्यक्ष निगरानी हुन्छ । तर, राँगा काट्ने ठाउँ अव्यवस्थित् रहेकोले हामीले बन्द गर्यौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले भने,‘विगतमा कसरी व्यवस्था गरिएको थियो मलाई त्यति थाहा भएन् । तर, अहिले जनताका सरोकारका विषय दुषित, प्रदुषित खाद्यवस्तुबाट रोगहरु लाग्छ । पानीबाटपनि रोगहरु उत्पन्न भएका छन् । खाने तेल र दुधकोपनि स्थिति त्यस्तै छ ।’ बधशालालाई व्यवस्थित गर्नको लागि मासु जाँच ऐन–२०५५ जारी गरिएपनि कार्यान्वयन नभएकोमा उनले गुनासो पोखे । उनले थपे,‘नेपालमा ऐन पारित गर्ने तर कार्यान्वयन नहुने समस्या छ । अब कार्यान्वयनतर्फ ध्यान दिनपर्छ । ऐन कार्यान्वयन नहुँदा मासुको स्थिति राम्रो देखिएन् ।’

त्यस्तै उनले हेटौंडामा रहेको पूरानो बद्यशालालाई पूनः सञ्चालनमा ल्याउनेबारे सरकारले तयारी गर्ने पनि जानकारी दिए । उनले भने,‘दैनिक ४ सय राँगा काट्न सकिन्छ । हेटौंडालगायत अन्य ठाउँमा बध गरेर काठमाडौं उपत्यकालाई व्यवस्थित गर्न सकिन्छ । सरकारले यसबारेमा पनि सोचेको छ।’

त्यस्तै उनले काठमाडौं उपत्यकाभित्र ४० वटा ‘मिट–मार्ट’को व्यवस्था गर्ने, हेटौंडाको पूरानो बधशालालाई तुरुन्त सञ्चालन गर्ने र फ्रिजर भ्यानबाट काठमाडौं मासु ढुवानीको व्यवस्था गर्ने योजना सुनाए । उनले आफूहरुले काठमाडौंमा गरेको मासुको अनुगमनबाट राँगाको मासु खानलायक नरहेको जिकिर गर्दै यसप्रति सचेत रहन उपभोक्तालाई आग्रह गरे । उनले भने,‘अरु मासुपनि व्यवस्थित छैनन् । तर, राँगाको मासु खानलायकको छैन् ।’

मन्त्री खनालले अनुगमनपछि २२ पानी उद्योगमा ताला लगाएको सुनाउँदै अहिले सुधारउन्मुख रहेको बताए । उनले भने,‘त्यस्तै दुधमा पनि अनुगमन गरेका थियौं। ले दुधमा ९२ प्रतिशत सुधार भएको छ । गुणस्तर कायम गरेका छौं ।’उनले एक वर्षसम्म खाद्य सुरक्षा अभियान सञ्चालन गर्नेपनि जनाए । खनालले भने,‘एक वर्षसम्म नै खाद्य सुरक्षा अभियान चलाउँछौं । चार वटा मोवाईल भ्यानमार्फत अभियान चलिरहेको छ । अझैसम्मपनि सञ्चालनमा नआएकोले मैले तत्काल नै सञ्चालन गर्नको लागि खाद्य तथा गुण नियन्त्रक विभागलाई निर्देशन दिईसकेको छु । यसलाई दशैं तथा तिहारलगायत चाडपर्वमा मात्रै नभएर वर्षैभरि सञ्चालन गर्नुपर्छ । दशैं तथा तिहारमा मात्रै अनुगमन गर्ने हो भने अनुगमन तथा नियामक निकायलाई खारेज गर्दा हुन्छ।’

फरक प्रसँगमा उनले पार्टीका प्रभावशाली नेता वामदेव गौतमलाई चुनाव लडाउने भनेर पार्टीभित्र कुनै निर्णय नभएको स्पष्ट पारे । उनले भने,‘स्थायी समितिमा अहिलेसम्म कुनै आधिकारिक सूचना हामीलाई केहीपनि छैन । तर माननीय सांसद रामबीर मानन्धरले पार्टीसमक्ष राजिनामा गर्नुभयो भन्नेमात्रै सुनिएको छ ।’यद्धपी उनले नेता गौतमलाई पार्टीको बरिष्ठ नेता भएकोले सुनाउँदै भने,‘उहाँ पार्टीको बरिष्ठ नेता हो । राजनीतिक हिसाबले महत्वपूर्ण व्यक्ति हुँदै हो । उहाँ चुनाव उठ्नुपर्छ । जित्नुपर्छ भन्ने कुरा आँफैमा ठिक पनि छ । तर, अर्को पक्ष के हो भने त्यो संस्थापक हुनुपर्छ । त्यो पार्टीभित्र छलफल हुनुपर्छ । त्यसको आवश्यकत्ता महशुस हुनुपर्छ ।’

मन्त्री खनालले नेता गौतमको प्रतिनिधिसभामा आवश्यक रहेको पनि सुनाए । ‘प्रतिनिधिसभामा उहाँको आवश्यक नहुने भन्ने कुरा होईन, उहाँको आवश्यक छ । तर, चुनाव भएको एक वर्षपनि भएको छैन । अरुलाई राजिनामा गराएर उहाँलाई ल्याउनको लागि केही औचित्यहरु पुष्टि गर्नुपर्छ । यसो गर्दा जनतालाई पनि सहज हुन्छ । यसकारणले उहाँलाई हामीले संसदमा लगेका हौं भनेर पुष्टि गर्नुपर्छ ।’–उनले थपे ।

पछिल्लो समय चिनी, खाद्य मल र पेट्रोलियम पदार्थमा महँगी देखिनुमा डलरको भाउ बढ्नुलेपनि केही असर परेको स्पष्ट पारे । उनले भने,‘तर हाम्रो देशमा उत्पादित खाद्य वस्तु र छिमेकी देशबाट आयात हुने कुरामा डलरको त्यति धेरै असर त होईन होला । खाद्य वस्तुको कुरा गर्दा हिजो २ महिना अघि र अहिलेको तुलनामा मुल्यवृद्धि भएकोजस्तो मलाई लाग्दैन् ।’उनले चाडपर्वको मौका छोपेर कसैले कालोबजारी र गलत काम गर्न खोजे सरकारले कडाभन्दा कडा कारबाही गर्ने पनि चेतावनी दिए । उनले भने,‘हामीले बजार अनुगमन गरिरहेका छौं । कसैले पनि चाडपर्वको मौका छोपेर गलत गर्नेबारे नसोचे हुन्छ।’

वर्तमान सरकार सफल हुनैपर्ने उनको भनाई छ । उनले भने,‘सरकार सफल हुनुको विकल्प छैन । दुई तिहाई सरकारको विकल्प अरु के हुन्छ अहिले ? सानातिना कुराहरु कहीँकतै बिग्रिएका रहेछन भनेपनि त्यसलाई सुधार गर्न सकिन्छ ।’
उनले निर्वाचित कार्यकारी राष्ट्रपतिको विषय अहिले दलीय हिसाबले ओझेलमा परेको गुनासो पोख्दै भने,‘तर, कार्यकारी राष्ट्रपतिको कुरा असन्दार्भिक चाहीँ होईन् । अहिलेपनि यो बहस जारी रहनुपर्छ । कार्यकारी राष्ट्रपतिको बहसपनि सँगसँगै चलिरहँदा यसले हामीलाई बेफाईदा गर्दैन् ।’

प्रतिक्रिया