कोदो र मादुरो पाउनै मुस्किल

admin

बैतडी, २७ असोज : बैतडीको मध्यपहाडी क्षेत्रमा पछिल्लो समयमा कोदो, मादुरोजस्ता पुराना बाली लोप हुन थालेका छन् । कोदो, मादुरोजस्ता बालीमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भए पनि बालीको महत्व नबुझ्दा लोप हुन थालेका हुन् ।

पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेका हुन् । केही वर्षअघिसम्म पनि सुदुरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङ र बाजुरालगायतका उच्चपहाडी तथा हिमाली भेगमा प्रशस्त मात्रामा कोदो र मादुरोको खेती गरिन्थ्यो ।

यस्तै कुनै समय बैतडीका किसानको खेतबारीमा पनि प्रशस्त उत्पादन हुने कोदो र मादुरो खेती अहिले लोप भइसकेको छ । अन्नहरूमध्ये स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने कोदो र मादुरो फलेको अहिले सायदै देख्न पाइने गरेको बैतडीको सुर्नया–३ का प्रेमसागर भट्टको भनाइ छ ।

आयतित खाद्यान्नका सामग्रीमा पोषक तत्व नपाइने भएकाले पछिल्लो समयमा बालबालिकामा कुपोषण देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिनुभयो । कोदो, मादुरो, भटमासलगायतका बालीमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भएपनि यसको महत्वका बारेमा जानकारी नभएको उहाँले बताउनुभयो ।

पुराना बालीमा पाइने पोषक तत्वका विषयमा ज्ञान नहुँदा पुराना बाली लोप हुन थालेको किसान मोहनबहादुर विष्टले बताउनुभयो । पुराना बालीको संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । धानबालीसँगै फल्ने कोदो मादुरो आजभोलि देख्नसमेत नपाइने गरेको किसानको भनाइ छ ।

कोदो, मादुरो, भटमासका परिकारहरु गाउँघरमा पाइन छाडेका छन् । बालबालिका, गर्भवती, सुत्केरी महिलाका लागि निकै फाइदाजनक रहेका बाली नै लोप हुन थालेकाले ग्रामीण क्षेत्रमा पोषक तत्व पाइने खाद्यान्नको कमी आउन थालेको सुर्नया–२ हटैराजकी तुला चन्दले बताउनुभयो । यी अन्नबालीले हुने फाइदाका बारेमा जानकारी नहुँदा यिनको अस्तित्व सङ्कटमा परेको हो ।

समयसँगै कृषि गर्ने तरिका परिवर्तन भयो, सँगै खेती गरिने बालीनाली पनि परिवर्तन हँुदै गए । कोदो, मादुरो, जैखेतीबाट धान, मकै आदि बालीजस्तो लाभ नहुनाले पनि यी बाली लोप हँुदै गएको किसान बताउँछन् ।

पछिल्लो समय गाउँघरमा भैँसीपालन घटेकाले पनि यो खेती लोप हँुदै गएको किसानको भनाइ छ । मादुरो, कोदो र जौलगायतका अन्नबाट बन्ने अधिकांश परिकार घिउ, मोही र दुग्धजन्य पदार्थबाट बन्ने भएकाले पनि भैँसी लोपसँगै यो खेती पनि लोप भएको उनीहरूको भनाइ छ ।

कोदो, मादुरो र भटमासबाट बनेका परिकार बालबालिका, गर्भवती सुत्केरी आमाका लागि निकै फाइदाजनक रहेपनि पछिल्लो समयमा यसको प्रयोग हुन छाडेको छ । नयाँ पुस्ताका मानिसले कोदो, मादुरोजस्ता बालीको महत्व नबुझ्दा पनि यी बाली लोप हुँदै गएको बताउनुहुन्छ, दशरथचन्द नगरपालिका–१ का देवदत्त भट्ट । हराउँदै गएका यी बालीहरुको सरंक्षण गर्नुपर्छ भन्ने चेतनाको विकास गर्नुपर्ने उहाँ खाँचो औँल्याउनुहुन्छ ।

जिल्लाको तत्लोस्वराड क्षेत्रमा पर्ने शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा अहिले कतैकतै यी अन्नको खेती गरेको देख्न सकिन्छ । तर, यो तुलनात्मक रूपमा निकै कम भइसकेको छ । हुन त स्थानीय जनप्रतिनिधिले परम्परागत खेतीको संरक्षण गर्ने बताउँदै आएका छन् । पुराना बालीको संरक्षणका लागि गाउँपालिका लागिपरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीको भनाइ छ ।

नयाँ बालीबाट कम मेहनतमा बढी उत्पादन हुने भएकाले पुराना बाली लोप हुँदै गएका छन् । कृषि ज्ञान केन्द्रमार्फत र कृषि क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले किसानलाई यी बालीको महत्वका बारेमा बुझाएर तालीम दिन सक्यो भने संरक्षण गर्न सकिने बागबानी अधिकृत लक्ष्मीदत्त पाण्डेयको भनाइ छ ।

एउटा त यी अन्नबाट पाइने पौष्टिक तत्वको बारेमा किसानलाई जानकारी नभएकाले यो खेती लोप भएको छ भने अर्को गाउँमा दुग्धजन्य पदार्थको अभावका कारण पनि यो खेती घटेको पाइन्छ । त्यसैले यी परम्परागत बालीको महत्वका बारेमा जानकारी गराई यी बालीलाई व्यवस्थित तरिकाले उत्पादन, बजारीकरण र यसबाट बन्ने विभिन्न परिकारका बारेमा जानकारी गराई यस्ता बालीलाई संरक्षण गर्न जरुरी छ । विनोदसिंह विष्ट, रासस

प्रतिक्रिया