खाग तस्कर १० वर्षपछि पक्राउ

admin

चितवन, २१ असोज: भारतमा लुकिछिपी बसेका गैंँडाको खाग तस्कर १० वर्षपछि पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले फरार रहेका नवलपरासीको कावासोती–१० रतौलीका ईश्वरीप्रसाद महतोलाई शुक्रबार पक्राउ गरेको हो ।

निकुञ्जका सूचना अधिकारी नरेन्द्र अर्यालका अनुसार महतो नेपाल छिरेको सूचनाका आधारमा ४५ दिनदेखि पिछा गरी नवलपरासीको अमलटारीबाट पक्राउ गरिएको हो । महतो सो क्षेत्रमा दुई गैँडा मार्ने कार्यमा संलग्न रहेको निकुञ्जले आरोप लगाएको छ ।

विसं २०६६ असोज २८ गते महतोसहित सात जनाविरुद्ध गैंँडा मारेर खाग चोरी बिक्री गरेको आरोपमा दुई मुद्दा दर्ता भएको थियो । विसं २०७१ असार १० गते निकुञ्जले महतोलाई १५ वर्ष कैद र रु ५० हजार जरिवानाको फैसला गरेको थियो । अर्काे मुद्दामा पनि १५ वर्ष कैद र रु ८० हजार जरिवानाको फैसला भएको सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो । महतोलाई शुक्रबार नै जिल्ला कारागार भरतपुर चलान गरिएको छ ।
– रासस

प्रतिक्रिया