घुम्ती शिविरबाट दुई सय लाभान्वित

admin

म्याग्दी, २ मङ्सिर: म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ पाखापानीको कोटगाउँमा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट २०० जनाभन्दा बढी लाभान्वित भएका छन् । गाउँपालिका र वडा कार्यालयको संयोजनमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा सम्पन्न शिविरबाट २०६ जनाले गाउँमै नागरिकता, ज्येष्ठ नागरिक परिचयपत्र, स्वास्थ्य उपचार, तस्वीरसहितको मतदाता नामावली दर्तालगायतका सेवा पाएका छन् ।

जिल्ला प्रशासन कार्यालयको टोलीले ३८ लाई नयाँ र आठ जनालाई प्रतिलिपी नागरिकता प्रमाणपत्र वितरण गरेको प्रजिअ लीलाधर अधिकारीले जानकारी दिनुभयो । २३ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । बेनी अस्पतालका चिकित्सकको टोलीले ७१ जनाको निःशूल्क स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण सेवा दिएको छ । १८ जनाको जन्मदर्ता, २ मृत्यु दर्ता, २३ महिला र २३ जना पुरुषको तस्वीरसहितको मतदाता नामावली दर्ता भएको छ । सशस्त्र प्रहरीको टोलीले ‘एक वडा एक हेलीप्याड’ कार्यक्रमका लागि सम्भाव्यता अध्ययन गरेको छ । जिल्ला प्रहरी कार्यालयले विद्यार्थी र युवायुवतीलाई लागुऔषध दुव्र्यसनीविरुद्ध प्रशिक्षण दिएको छ ।

कोटगाउँ, ठाडाखानी, रायखोर, चिमखोला, दर्मीजा, कुइनेखानीलगायत दुर्गम बस्तीका बासिन्दाले शिविरबाट सेवा लिएका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । भौगोलिक विकटताका कारण सदरमुकामका कार्यालयमा पुगेर सेवा लिन नसकेका सर्वसाधारणलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

प्रवासी पूर्वविद्यार्थीको पहलमा कक्षाकोठा भवन निर्माण
प्रवासमा रहेका पूर्वविद्यार्थीको पहलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित ज्ञानप्रकाश माविमा कक्षाकोठा भवन निर्माण भएको छ । बेलायती पूर्वगोर्खा सैनिकको पहलमा पहार ट्रस (कोष) नेपालको सहयोगमा आठकोठे पक्की भवन निर्माण भएको हो ।

कोषको रु ७२ लाख ११ हजार २१७ र विद्यालयको रु २५ लाख १० हजार ८७ गरी कूल रु ९७ लाख २१ हजार ३०४ को लगानीमा दुईतले भवन निर्माण भएको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले जानकारी दिनुभयो । भवन निर्माणका लागि सहयोग भित्र्याउन बेलायतको गोर्खा सैनिकका सेवा निवृत दानावासीले पहल गरेका थिए ।

कक्षा ११ र १२ को पठनपाठन सञ्चालनका लागि उक्त भवन प्रयोगमा ल्याउने योजना रहेको प्रअ शान्तबहादुर नेपालीले बताउनुभयो । यसअघि भवन अभावमा ११ र १२ कक्षाको पठनपाठन बिहानको समयमा सञ्चालन हुँदै आएको थियो । नयाँ भवन बनेपछि सबै कक्षा दिवा सञ्चालन हुने भएको छ । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा ३५८ विद्यार्थी छन् ।
-रासस

प्रतिक्रिया