चतुर्मास व्रत उद्यापन गर्न हुने

मनिषा थापा

काठमाडौँ, २ मङ्सिर (रासस)  :  बृहस्पति अस्त भए पनि कार्तिक शुक्ल एकादशीका दिन तुलसी–दामोदरको विवाह, चतुर्मास व्रत उद्यापन, नवान्नप्राशन गर्नुहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

बृहस्पति अस्तका बेला ठूलो एकादशीसमेत भनिने कार्तिक शुक्ल एकादशीका दिन गरिने व्रत, तुलसी–दामोदर विवाह र त्यसपछि उद्यापनको हवनलगायत धार्मिक कार्य गर्नु हुँदैन भनी गरिएको हल्ला एवं प्रचारप्रसार शास्त्रीय रुपमा गलत रहेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

आषाढ शुक्ल एकादशीदेखि शुरु गरिएको चतुर्मास व्रत नित्य कर्म भएकाले बृहस्पति अस्त तथा उदयका कारण रोक्न नपर्ने उहाँले बताउनुभयो । कात्तिक २६ गते अस्त भएका बृहस्पति मङ्सिर २१ गते उदाउने समितिले स्वीकृत गरेका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

शास्त्रीय मान्यताअनुसार बृहस्पतिलाई देव गुरु र शुक्राचार्यलाई दैत्य गुरु मानिन्छ । बृहस्पति र शुक्र अस्त भएका समयमा कुनै कामना राखेर कर्म गर्नु नहुने शास्त्रीय मत छ । यस अवसरमा नित्य र नैमित्तिक कर्म भने गर्नुहुन्छ ।

प्रतिक्रिया