दैलोमै सेवा पाउँदा नागरिक खुशी

मनिषा थापा

तुलसीपुर, १ मङ्सिर (रासस)  :  दाङको दुर्गम वडा घोराही उपमहानगरपालिका–१९ सैघाका स्थानीयवासी दैलोमै पहिलोपटक सबै सेवा पाउँदा खुशी भएका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङले घोराही उपमहानगरपालिकाको समन्वयमा एकीकृत घुम्ती शिविरको शुक्रबार आयोजना गरेको थियो । सुगमभित्रको आफैँमा दुर्गम भएकाले विकासको सामान्य पूर्वाधारबाट समेत यो क्षेत्र वञ्चित भएको छ । शिक्षा, स्वास्थ्य, विद्युत्, सडक, खानेपानीको राम्रो व्यवस्था छैन । उच्च शिक्षाको लागि घोराही बजार जानुपर्ने बाध्यता छ भने उज्यालोको लागि अझै पनि टुक्की बाल्न यहाँका नागरिक बाध्य छन् ।

शिविरमा नागरिकता वितरण, स्वास्थ्य परीक्षण, पशु स्वास्थ्य जाँच, कृषकलाई परामर्श, निःशुल्क औषधि वितरण, मोवाइलको सिमकार्ड वितरणलगायतका सेवा प्रवाहसँगै स्थानीय खुशी भएका थिए । शिविरमा २७ जनालाई नागरिकता, १४० जनालाई नागरिकताको लागि सिफारिश, १०५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

त्यस्तै २२ जनालाई टेलिकमको सिम वितरण, ५५ परिवारले पशु सेवा, ६५ जनाले आँखासम्बन्धी समस्याको जाँच, ६२ जनालाई फोटो सेवा लिएको १९ नम्बरका वडाध्यक्ष हर्क घर्तीमगर जानकारी दिनुभएको छ । त्यस्तै शिविरमा किसानका कृषिसम्बन्धी सेवासमेत कृषिविज्ञले दिएका थिए ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जनतालाई घरदैलोमै सेवा प्रवाह गर्ने उद्देश्यका साथ शिविरको आयोजना गरिएको बताउँदै विविध कारणले सेवा लिनबाट वञ्चित नागरिकलाई सेवा दिनु सरकारको प्रमुख दायित्व भएको बताउनुभयो ।

त्यस्तै विकट वस्तीका नागरिकलाई घरदैलोमै एकीकृत रुपमा सेवा प्रवाहका लागि शिविर चलाएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया