द्वन्द्वपीडितको राष्ट्रिय सम्मेलन मङ्गलबारदेखि

admin

काठमाडौँ, २ मङ्सिर: द्वन्द्वपीडितको राष्ट्रिय सम्मेलन मङ्गलबारदेखि शुरु हुँदैछ । सङ्क्रमणकालीन न्यायको जारी प्रक्रियाको सिंहावलोकन गर्दै भावी रणनीति तय गर्ने उद्देश्यले द्वन्द्वपीडित साझा चौतारीले सो सम्मेलन आयोजना गर्न लागेको हो ।

सम्मेलनमा मुलुकका सवै जिल्लाका करीब २०० प्रतिनिधिको सहभागिता रहने अध्यक्ष भागीराम चौधरीले जानकारी दिनुभयो । चौतारीले कात्तिकमा पोखरा, नेपालगञ्ज, विराटनगर, जनकपुर र ललितपुरमा प्रादेशिक सम्मेलन आयोजना गरेको थियो । उक्त सम्मेलनमा पीडित तथा अन्य सहभागीले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याई दण्डहिनताको अन्त्य गर्न, सत्य जान्न पाउने अधिकारको प्रत्याभूति, पीडितलाई न्याय, पीडकलाई सजाय, राष्ट्रिय मेलमिलाप तथा पीडितको व्यक्तिगत पहिचान, प्रतिष्ठा, आत्मसम्मान लगायतबारे सुझाव दिएका थिए ।

राष्ट्रिय सम्मेलनले प्रदेश सम्मेलनबाट प्राप्त सुझावलाई आवश्यक परिमार्जनसहित वडापत्रको स्वरुप दिने अध्यक्ष चौधरीले बताउनुभयो । राष्ट्रिय सम्मेलन अवधिभर द्वन्द्वपीडितका माग र मुद्दासँग सरोकार राख्ने संस्था, सङ्गठन र व्यक्तिबाट व्यक्त धारणा सङ्कलन गरिनेछ ।
-रासस

प्रतिक्रिया