नवदुर्गाभवानीको चैतन्य झाँकी अनावरण

admin

काठमाडौँ, २ कात्तिक : पूर्वमन्त्री एंव सांसद भीमसेनदास प्रधानले नारी शक्तिलाई मातृशक्तिका रुपमा पूजा गरिन्छ, जसमा दया, करुणा र प्रेमजस्ता दैवी गुणहरु विद्यमान रहन्छन् भन्नुभयो ।

बडादशैँको उपलक्ष्यमा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्रले आयोजना गरेको शुभकामना आदानप्रदान, नवदुर्गाभवानीको चैतन्य झाँकी अनावरण तथा विजयादशमी टीका ग्रहण कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले दया, करुणा र प्रेमले भरिपूर्ण ममतामयी माँताले कहिले पनि पशुबलि ग्रहण गर्दैन्, त्यसैले पशुपक्षी बलि प्रथाको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो ।

ब्रह्माकुमारी संस्थाले श्रीराम, श्रीकृष्ण र बुद्ध प्रविृत्तिलाई आत्मसात् गरी महिषासुर, दुर्योधन तथा रावण प्रवृत्तिको अन्त्य गर्ने महाअभियान चलाएको चर्चा गर्दै उहाँले सबै नेपालीलाई दशैँ, दीपावली, नेपाल संवत् र छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभयो ।

ब्रह्मकुमारी राजयोग सेवा केनद्र नेपालका निर्देशक राजयोगिनी राज दिदीले दशैँको अवसरमा सबै नेपालीको आध्यात्मिक भौतिक उन्नति, समृद्धि, सुस्वास्थ्यको कामनाका गर्दै परमात्मा पिताको स्मृतिबाट प्राप्त ऊर्जाले मनोविकार रुपी राक्षसहरुमाथि सहज विजय प्राप्त गर्न सकिन्छ, अनि मात्र समाजमा दिगो सुख र शान्ति प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वमन्त्री केशवलाल श्रेष्ठ, ब्रह्माकुमार रामसिंह ऐर, तिलकबहादुर शाही र किशोर मल्ललगायतले दशैँ र राजयोग सेवाकेन्द्रको विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

कार्यक्रममा नवदुर्गाभवानीको चैतन्य झाँकी, भगवती स्तुति, नृत्य प्रस्तुत तथा बडादशैँ पर्वको महत्व विषयक नाटकसमेत प्रस्तुत गरिएको थियो ।

यसैगरी सो संस्थाले केन्द्रीय कारागार, भद्र बन्दीगृह र महिला बन्दीगृहमा पनि सयौँ बन्दीलाई टीका तथा प्रसाद वितरण गरियो । रासस

प्रतिक्रिया