नेपालबाट अफगानिस्तानलाई १३२ रनको चुनौती

रिता घिसिंग

काठमाडौँ, १५ असोज : बङ्गलादेशमा जारी एसिसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १३२ रनको लक्ष्य दिएको छ ।

बङ्गलादेशस्थित क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३१ रन मात्र जोड्यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए ।

यस्तै नेपालका राशिद खानले २९, कप्तान आसिफ शेखले २० तथा ऋत गौतमले १० रन जोड्नेबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । नेपाललाई १३१ रनमा समेट्ने क्रममा अफगानिस्तानका अजमातुल्लाह ओमरजाईले ४ विकेट लिए भने कैस अहमद र अब्दुल रहमानले दुई दुई विकेट झारे ।

समूह ‘ए’ मा रहेको नेपाललाई अघिल्लो चरण प्रवेशका लागि पनि अफगानिस्तानलाई हराउनुपर्ने बाध्यता छ । यसअघि भएको पहिलो खेलमा नेपाल भारतसँग १७१ रनको भारी अन्तरले पराजित भएको थियो ।
यता अफगानिस्तानले भने पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)लाई पराजित गरिसकेको छ । अफगानिस्तान अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
–रासस

प्रतिक्रिया