पहुँचको भरमा योजना छनोट गर्ने प्रवृत्ति हटाउनुपर्छ : मन्त्री त्रिलोचन भट्ट

मनिषा थापा

धनगढी, २ मङ्सिर (रासस)  :  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पहुँचका आधारमा विकासका योजना छनोट गर्ने प्रवृत्तिले प्रभावकारी कार्यान्वयनमा समस्या उत्पन्न हुने गरेको बताउनुभएको छ ।

राष्ट्रिय योजना आयोगको पहलमा आजदेखि यहाँ शुरु भएको ‘दिगो विकास लक्ष्य मैत्री योजना, अनुगमन मूल्याङ्कन तथा तथ्याङ्कसम्बन्धी प्रदेशस्तरीय क्षमता विकास’ कार्यक्रममा उहाँले पहुँचका आधारमा योजना बन्ने प्रवृत्ति हटाउन नसकिए समृद्धि नआउने धारणा व्यक्त गर्नुभयो ।

बदलिँदो परिवेशमा जनताको माग र आवश्यकताअनुसारका योजना बनाई प्रभावकारी कार्यान्वयन गर्ने संयन्त्र बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्रीले भन्नुभयो, “नजीकको नाता र ठूलो मान्छेका आधारमा योजना बन्ने प्रवृत्तिले योजनाको कार्यान्वयनमा समस्या छ ।”

कुन तहका योजनालाई कुन सरकारले अगाडि बढाउने भन्ने विषयमा हाल देखिएको अन्यौलता हटाउन पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले आयोगले अहिले दीर्घकालीन सोच बनाउने, पन्ध्रौँ योजना बनाउने, तहगत रुपमा समन्वयका काम गर्ने, तथ्याङ्क प्रणाली बलियो बनाउनेलगायत कामलाई प्राथमिकता दिएको बताउनुभयो ।

आयोगका सदस्य सुशील भट्टले विकाससम्बन्धी योजनाहरुलाई परिणाममुखी बनाउने गरी आयोगले आवश्यक योजना बनाइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा, प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिडारीलगायतले दिगो विकास मैत्री योजना र तिनको कार्यान्वयनको बारेमा बोल्नुभएको थियो ।

तीनदिने उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सहसचिव, प्रदेशसभाका विषयगत समितिका सभापति, सभामुख, उपसभामुख लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया