पिछडिएका समुदायलाई निःशुल्क कानूनी सेवा

admin

बुटवल, १५ असोज: उच्च अदालत तुलसीपुर बुटवल इजलासमा असहाय, विपन्न, वृद्धवृद्धा र पिछडिएका समुदायलाई निःशुल्क कानूनी सेवा प्रदान गरिएको छ । सो इजलासमा परेका विभिन्न मुद्दामध्ये असार मसान्तसम्म २०० मुद्दा फस्र्यौट भएको वैतनिक कानूनव्यवसायी कैलाशचन्द्र ज्ञवालीले जानकारी दिनुभयो । खासगरी अंशबण्डा, सम्बन्ध विच्छेद, आर्थिक लेनदेन, जग्गा सम्बन्धी विवाद, जबर्जस्ती करणी, गोवध, कर्तव्य ज्यान, ठगीलगायतका मुद्दामा निःशुल्क कानूनी सेवा दिइएको छ ।

तुलसीपुर बुटवल इजलासमा गुल्मी, पाल्पा, नवलपरासी, अर्घाखाँची, कपिलवस्तु र रुपन्देहीबाट वार्षिक ४० हजार भन्दा कम आय भएका र घरमा कुनै जानकारी नभएकाको मुद्दामा बहस पैरवी हुने गरेको कानून व्यवसायी ज्ञवालीले बताउनुभयो ।

‘कुनै पनि नागरिकले कानूनको प्रतिरक्षा गर्न निःशुल्क रुपमा मुद्दा हेरिएको छ’ उहाँले भन्नुभयो । कानून व्यवसायी ज्ञवालीले पीडित व्यक्तिले कानूनी प्रतिरक्षा गर्न भनेर कानूनी प्रतिरक्षाको सिद्धान्त आएको उल्लेख गर्दै बहस पैरवीबाहेक अन्य कानूनी सेवा समेत प्रदान गरेको बताउनुभयो । विसं २०४८ देखि नै यो सेवा अदालतमा प्रदान गरेको बताइएको छ । निःशुल्क सेवाका लागि अदालतमा बैतनिक कानून व्यवसायी हुनुहुन्छ ।
-रासस

प्रतिक्रिया