प्रेमकथामा आधारित उपन्यास ‘साकुरा’ सार्वजनिक

admin

काठमाडौँ, १३ असोज: लेखक सङ्घर्ष क्षेत्रीद्वारा लिखित प्रेमकथामा आधारित उपन्यास ‘साकुरा’ सार्वजनिक गरिएको छ । क्षेत्रीको सो पहिलो कृतिको आज राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष एवं साहित्यकार हरिहर अधिकारी ‘श्यामल’ ले विमोचन गर्नुभएको हो ।

अध्यक्ष श्यामलले मानिसका सम्बन्ध र द्वन्द्वका परिणामलाई उपन्यासमा उतार्नु सजिलो नभए पनि लेखक क्षेत्रीले चुनौती मोलेर युवती साकुरा र राइटर (प्रभाकर) लाई मुख्य पात्र बनाएर प्रेमको आख्यानीकरणको प्रयत्न गरेको बताउनुभयो । उहाँले प्रेमलाई कोरारुपमा मात्र नहेरी यसको सामाजिकीकरण गरी हरेक झुपडीमा रुमल्लिएका पीडालाई कलापूर्ण र घनीभूतरुपमा प्रस्तुत गर्न सकेमा लेखकको सामाजिक उत्तरदायित्वसमेत पूरा हुने बताउनुभयो ।

पत्रकार रामकुमार एलनले उपन्यासको प्रभाकर पात्रले समाजमा उज्यालो छरेको र उपन्यासले सहरी युवायुवतीको मन छुने प्रयास गरेको बताउनुभयो । गुल्मीको धुर्काेट गाउँपालिका निवासी क्षेत्रीको उपन्यास सहरी जीवनका पात्रको प्रेम र सङ्घर्षमा आधारित छ भने कृतिमा सूचना प्रविधिको नवीनतम् भाषाशैलीसमेत प्रयोग गरिएको छ । क्षेत्रीका फुटकर कविता प्रकाशित छन् । पुस्तकको प्रकाशन ‘पेट नेपाल’ले गरेको हो ।
-रासस

प्रतिक्रिया