फ्लोरिडाका आँधी पीडितहरुको खोजी र उद्धारको काम शुरु

मनिषा थापा

 संयुक्त राज्य अमेरिका, २६ असोज  : अमेरिकाको फ्लोरिडालगायतका राज्यमा भएको आँधी पीडितहरुको उद्धारको काम शुरु गरिएको छ ।

संयुक्त राज्य अमेरिकाको फ्लोरिडासहितका तीन ओटा राज्यमा आएको आँधीका कारण भएको क्षतिको खोजी गर्नुका साथै यसका पीडितको उद्धारका लागि विशेष उद्धार समूह परिचालन गरिएको छ ।

‘माइकल’ नामक यस आँधी ‘क्याटगोरी ४’ अर्थात निकै शक्तिशालीको सूचीमा रहेको छ । माइकल अमेरिकामा ८० वर्षयताकै शक्तिशाली आँधी भएको जनाइएको छ ।

अमेरिकाको तीन ओटा राज्य प्रभावित हुने गरी आएको यस आँधीमा परी छ जनाको ज्यान गएको छ । यसबाट सबैभन्दा बढी फ्लोरिडा राज्य प्रभावित भएको बताइएको छ । फ्लोरिडा राज्यको पनि उत्तरपश्चिमी क्षेत्र प्यानह्यान्डल सबैभन्दा बढी प्रभावित भएको छ ।

मेक्सिकोतर्फको समुद्री किनारमा आँधी आएपछि त्यसले वरपरका क्षेत्रहरुमा ठूलो क्षति पुगेको छ । सयौँ घर उडाएको छ भने बाटोघाटोलगायतका आधारभूत सञ्चार र संरचनामा ठूलो क्षति पुगेको छ ।

फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले आँधीले अकल्पनीय क्षति पु¥याएको बताउनुभयो । यसबाट भएको क्षतिको विवरण सङ्कलनका साथै हराएका व्यक्तिको खोजीकार्य शुरु गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो– हराएका व्यक्तिको खोजी र उद्धार पहिलो प्राथमिकता हो र यसका लागि हामीले प्रभावकारी मानिएको उद्धार समूह परिचालन गरेका छौँ ।

उहाँले एबिसी मिडियासँगको कुराकानीमा भन्नुभयो– यो आँधी निकै नै शक्तिशाली हो तर पनि मानवीय क्षति त्यति धेरै भएको छैन । तर हराएका व्यक्तिहरु अझै पनि कतै जिवीतै रहेको हुनसक्ने भएकोले उनीहरुको जिवीतै उद्धारलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छौँ ।

करिब २ हजार जना फ्लोरिडाका सैनिक खोजीका लागि परिचालन गरिएको जानकारी अमेरिकी सैनिकले जनाएको छ । सैनिकको साथमा अरु तालिमप्राप्त उद्धारकर्मीहरु पनि खटेका सेनाले जनाएको छ ।

फ्लोरिडा र यसको छिमेकी अरु दुई राज्यका ४ लाखभन्दा बढी घर विद्युतविहीन भएका छन् । ती क्षेत्रमा विजुलीको व्यवस्थाका लागि विद्युत सेवाका करिब २० हजार जना कर्मचारीलाई खटाइएको उक्त कार्यालयले जनाएको छ ।

मेक्सिको समुद्री किनारबाट प्रतिघण्टा करिब १५५ माइल गतिमा आएको यस आँधीका कारण भएको सबै क्षतिको विवरण प्राप्त भएको छैन ।

यसबाट छ जनाको ज्यान गएको र अरु केही व्यक्ति हराएको बताइएको छ । यस आँधीले ठूलो मात्रामा भौतिक पूर्वाधारमा क्षति पु¥याएको बताइएको छ ।

आँधी पीडितको सहयोगका लागि अमेरिकी सरकारले सबैसँग अनुरोध गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभएको छ । (रासस-एएफपी)

प्रतिक्रिया