बागेश्वरी मन्दिरमा टाढाका भक्तजन

admin

नेपालगञ्ज, २६ असोज : दशैँको पूजाका लागि यहाँस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा टाढाटाढाबाट भक्तजन आउने गरेका छन् ।

विशेषतः दशैँका बेला बर्दिया, दाङ, सुर्खेत, दैलेख र भारतका विभिन्न स्थानबाट भक्तजन माता बागेश्वरीको दर्शन गर्न आउने गरेका गर्दछन् । घटस्थापनादेखि रामनवमीसम्म भाकल गर्नेले जिब्रो छेड्ने गर्दछन् । जिब्रो छेडेर माता बागेश्वरीको दर्शन गरेमा सबै मनोकामना पूरा हुने विश्वास छ । यो मन्दिरमा अष्टमी र नवमीका दिन पशु बलि दिने परम्परा पनि रहिआएको छ ।

सतीदेवीको जिब्रो पतन भएको स्थानमा बागेश्वरी मन्दिर स्थापना भएको मन्दिरका मूल महन्त चन्द्रनाथ योगी बताउनुहुन्छ । “माता बागेश्वरीको श्रद्धा, भक्तिपूर्वक पूजा गर्नेको मनोकामना पूरा हुँदै आएको छ”, उहाँको भनाइ छ । मन्दिरमा विशेष सङ्कल्प गर्ने भक्तजनले तोकिएको समयमा बागेश्वरी माताको खुला दर्शन गर्न पाउने व्यवस्था पनि गरिएको मूल महन्त योगी बताउनुहुन्छ ।

नेपालगञ्जको मध्यभागमा रहेको यो मन्दिर आवतजावत गर्ने दुई बाटोमध्ये पश्चिमतर्पmको बाटो साँघुरो छ । बाटोको दुवै छेउमा ठेला र घुम्ती पसल राख्नाले बाटो अझ साँघुरो भएको छ । मन्दिर प्रवेश गर्ने पूर्वतर्पmको न्यूरोडको बाटो भने फराकिलो छ । दशैँमा मन्दिरमा भक्तजनको बढी भीड हुने भएकाले स्थानीय प्रशासन कार्यालयले सुरक्षाको विशेष चाँजोपाँजो मिलाएको छ । अरु समयभन्दा चार गुणा बढी प्रहरी, धार्मिक स्वयंसेवक यो बेला मन्दिरमा खटाइएको छ ।

“मन्दिरमा आउने भक्तजनलाई व्यवस्थित गर्न र कुनै आपराधिक घटना नहोस् भन्नका लागि दिनरात प्रहरी मन्दिरमा खटाइएको छ”, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले भन्नुभयो ।

यसैगरी दशैँमा बाँकेमा सामाजिक सद्भाव कायम राख्न नेपालगञ्जका हिन्दू, मुस्लिम, सिख र इसाई धर्मगुरुले सबैमा अपिल गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले चाडपर्वमा सामाजिक सद्भाव नबिथोलियोस् भन्नका लागि धार्मिक तथा सामाजिक सद्भाव समिति गठन गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो ।

दशैँकै अवसरमा आम उपभोक्तालाई ध्यानमा राखेर नेपालगञ्ज वितरक सङ्घले घटस्थापनादेखि बागेश्वरी मन्दिरको पूर्वपट्टीको जग्गामा ‘दशै सस्तो बजार’ सञ्चालन गर्ने गरेकोे छ । असोज ३० गते सप्तमीसम्म दशैँ सस्तो बजार सञ्चालन हुने सङ्घका अध्यक्ष अमित बस्नेतले बताउनुभयो । दशैँ सस्तो बजारमा पाँचदेखि २५ प्रतिशत छुट दिइने बताइएको छ । नीरज गौतम, रासस

प्रतिक्रिया