बेलायती राजकुमारी गर्भवती भएको बेलायती राजदरबारको घोषणा

admin

लण्डन, २९ असोज : बेलायती राजकुमारी मेघान मर्केल गर्भवती भएको घोषणा गरिएको छ ।
राजकुमार ह्यारीकी श्रीमती मेघानले अर्को बर्षको बसन्त ऋतुमा शिशु जन्माउने बेलायती राजदरबारले सोमबार जनाएको हो ।

“राजकुमार र राजकुमारीलाई आउँदो सन् २०१९ को बसन्तमा सन्तान लाभ हुने भएको छ,” बेलायती राजदरबार केन्सीङ्टनद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
राजकुमार ह्यारी र अमेरिकी पूर्वअभिनेत्री मेघानबीच गत मे १९ तारिखका दिन विवाह भएको थियो ।

राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यासल (दरबार) को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करीब ६०० विशिष्ट पाहुना सहभागी भएका थिए ।

वैवाहिक समारोह भएको दरबार बाहिर हजारौँ दर्शकहरूले सडकका दुई किनारामा रहेर समारोहमा खुशी साटेका थिए । विवाह समारोहमा ३३ वर्षीय राजकुमार ह्यारी र ३७ वर्षीया मार्कलले सँगै जिउने वाचा गर्दै एक आपसमा औँठी साट्नु भएको थियो ।

सन् २०१६ को जुलाई महिनादेखिको प्रेम सम्बन्धलाई उहाँहरूले वैबाहिक जीवनमा रुपान्तरण गर्नुभएको बताइएको थियो ।
राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहनु भएका राजकुमार ह्यारीको प्रेमी जोडी गत सेप्टेम्बर महिनामा पहिलोपटक सार्वजनिक रूपमा देखा परेको थियो । रासस÷एएफपी

प्रतिक्रिया