भक्तपुरमा पसलको अनुगमन तीव्र, म्याद गुज्रेको सामान जफत

रिता घिसिंग

भक्तपुर, २८ असोज  :  भक्तपुर नगरपालिकाले तौमढीदेखि नासमनासम्मका खाद्य पसलको अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामान जफत गरी नष्ट गरिएको छ ।

नगरपालिकाले आज अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा हरिप्रसाद खाइतुको चिया पसल र नारायण मिठाइ भण्डारमा किचेन फोहोर भएको, विद्युत्को तार अलपत्र राखेको, ग्यास सिलिण्डर आगो नजिक राखेको, मिठाइ सामानहरुमा धुलो, झिङ्गा भन्किएको, मूल्य सूची नराखेको र पसल नवीकरण नगरेको पाइएको वरिष्ठ अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।

टोलीले देव तेल पसललाई तीन दिनभित्र दर्ता गर्न निर्देशन दिएको छ । त्यस्तै रामचन्द्र शाखको खुद्रा व्यवसाय पसलमा पसल नवीकरण गर्न निर्देशन दिएको छ ।

लक्ष्मी किराना पसल नवीकरण गर्न, ढक तराजु पनि नापतौल विभागमा नवीकरण गर्न, प्याकेज सामानमा लेबल राख्न र सडक पेटीमा सामान नराख्न निर्देशन दिएको छ भने ईश्वरानन्द हाडाको किराना पसलमा म्याद नाघेको सामान प्रशस्त भेटिएकाले नष्ट गरेको छ । पसल नवीकरण गर्न निर्देशन दिएको छ । रासस

प्रतिक्रिया