भरपुर पौष्टिक तत्व प्राप्त गर्नको लागि यसरी खानुहोस् अण्डा

मनिषा थापा

अण्डामा क्यालोरीकेा मात्रा कम हुनुका साथै प्रोटिन, भिटामिन, मिनरल्स तथा हेल्दी फ्याटको मात्रा धेरै हुन्छ । तर, यसलाई प्रयोग गर्ने तरीकाले यसबाट प्राप्त गर्ने पोषकतत्वको मात्रालाई तलमाथि पार्न सक्छ ।

किनभने कहिलेकाँही अण्डाबाट बनेको परिकार स्वादिलो भएपनि यसमा रहेको पोषणतत्व पकाउने क्रममा नष्ट हुनसक्छ । यसको लागि अण्डालाई सही तरीकाले खान आवश्यक छ ।

कसरी खाने अण्डा ?

अण्डालाई उसिनेर तथा पकाएर पनि खान सकिन्छ । कोहीले भने काचै अण्डा पनि खाने गर्छन् । अण्डामा विभिन्न किसिमका व्याक्टेरिया हुने भएकोले यसलाई पकाएर खानु नै स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

अण्डामा प्रोटिन लगायतका कयौ किसिमका पोषण तत्व हुन्छ, जुन सजिलै नपच्न सक्छ । त्यसलाई पचाउनका लागि पनि अण्डालाई उसिनेर खानु उचित हुन्छ ।

विशेषगरी, अण्डालाई काँचै खानाले अण्डामा रहेको कुल प्रोटिनको १५ प्रतिशत मात्र शरीरले अवशोषित गर्न सक्छ । तर, उसिनेर खाएमा अण्डामा भएको ९१ प्रतिशत प्रोटिन शरीरले अवशोषित गर्न सक्छ ।

यसको मुख्य कारण भनेको तापमान बढेमा अण्डामा रहेको प्रोटिनको स्वरुप परिवर्तित हुने गर्छ जसले गर्दा यो सजिलै पच्ने गर्छ ।

यसबाहेक, काँचो अण्डामा बायोटिन नामक विशेष तत्व पनि पाइदैन, जुन पाचनको लागि जरुरी छ । र, बायोटिनलाई भिटामिन बी ७ वा भिटामिन एच पनि भन्ने गरिन्छ ।

अण्डाबाट कसरी धेरै पौष्टिक तत्व पाउने ?

अण्डालाई विभिन्न तरीकाले खान सकिन्छ । उसिनेर, अमलेट बनाएर वा फ्राइ गरेर । तर, यसरी विभिन्न परिकार बनाएर खाँदैमा अण्डामा भएको सबै पौष्टिक तत्व शरीरले ग्रहण गर्न सक्दैन । त्यसैले अण्डालाई धेरै पौष्टिक बनाउन खाने तरीकाले पनि महत्वपूर्ण भूमिका खेल्छ ।

अण्डालाई अमलेट बनाएर भन्दा उसिनेर वा पोच बनाएर खान सके यसले शरीरलाई बढी पौष्टिक तत्व प्रदान गर्छ । किनभने उसिनेको अण्डामा क्यालोरीको मात्रा कम हुन्छ, र पौष्टिक तत्व धेरै हुन्छ । त्यस्तै, अण्डामा विभिन्न सागसब्जीको प्रयोग गरेर पनि यसलाई स्वादिलो तथा पौष्टिक तत्वयुक्त बनाउन सकिन्छ ।

अण्डालाई फ्राइ गर्नै परेमा एक्स्ट्रा भर्जिन आयल, बदर तथा कोकोनट आयलमा पकाउँदा उच्च तापक्रममा पनि पौष्टिक तत्व स्थिर हुन्छ । त्यस्तै अण्डा मध्य पनि बजारमा पाइने अण्डाको तुलनामा लोकल कुखुराको सेवन ज्यादा स्वस्थवर्धक मानिन्छ ।

अण्डालाई पकाउँदा कम तापक्रममा थोरै समयको लागि पकाउनु पर्छ । धेरै बेर पकाउनाले यसमा रहेका राम्रो कोलेस्ट्रोलको मात्रा कम हुनसक्छ ।

त्यस्तै ठूलो आँचमा अण्डा पकाउनाले अण्डामा रहेको प्रोटिन शरीरले प्राप्त गरेपनि त्यसमा रहेका अन्य पौष्टिक तत्व नष्ट हुनसक्छ ।

विभिन्न शोधहरुका अनुसार अण्डालाई धेरै समय पकाएमा यसमा रहेको भिटामिन ए १७- २० प्रतिशतसम्म कम हुने गर्छ । ठूलो आँचमा पकाउँदा यसमा पाइने एन्टीअक्सिडेन्ट तत्व पनि कम हुने गर्छ । कम आँच र कम समय पकाएको अण्डामा पौष्टिक तत्वको मात्रा भरपूर हुने गर्छ ।

प्रतिक्रिया