मधेशी समुदायमा पनि छठ पर्वको रौनक [फोटो फिचर]

शर्मिला गुरुङ

बुटवल, २७ कात्तिक  :  मैथिली समुदायमा लोकप्रिय भएको छठ पर्वको यहाँका मधेशी समुदायमा पनि रौनक देखिएको छ । उनीहरुले ‘छठ पर्व’ मनाउन रुपन्देहीको शुद्धोद्धन गाउँपालिका–१ स्थित घमाहा खोलामा माटोको वेदी बनाउनेदेखि लिएर केरा र उखुको बोट गाडेर पूजास्थल सजाउन थालेका छन् ।

केही वर्षअघिसम्म ‘छठ पर्व’ का बारेमा जानकारी नभएको बताउने यस क्षेत्रमा सात वर्षदेखि मात्रै मनाउन थालिएको स्थानीय दौलती लोधले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “श्रीमान्को लामो आयु र आरोग्य तथा सु–स्वास्थ्यका लागि ‘छठ पर्व’ मनाइन्छ ।”

मधेशी समुदायका अधिकांश महिला र पुरुष व्रत बसेर खोलामा नै रातभर जाग्राम बस्छन् र आज अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् भने भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।

उहाँ भन्नुहुन्छ, “छठ पर्वमा विष्णु भगवान्को पूजा गरिन्छ त्यसैले सूर्यलाई अर्घ दिइन्छ ।” यस क्षेत्रमा स्थानीय किसुली, चानापार, बेलवा, मनरखनीलगायतबाट स्थानीय महिला पूजा गर्न आउँछन् । जिल्लाको सियारी गाउँपालिका, गैडहवा गाउँपालिका, शुद्धोद्धन गाउँपालिकालगायत मधेशी समुदायको बाहुल्यता रहेको क्षेत्रमा छठ पर्व मनाइन्छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू