मुस्ताङका स्याउको माग बढ्दो

रिता घिसिंग

पोखरा, २३ असोज : “मुस्ताङका स्याउ पाएसम्म सर्वसाधारणले अरु खोज्दैनन््,”–पोखराको चिप्लेढुङ्गास्थित लेखनाथ भरतपोखरी फलफूल सेन्टरकी सञ्चालिका शान्तिमाया पौडेलले भन्नुभयो । उहाँका अनुसार यतिखेर पोखराको बजारमा मुस्ताङका स्याउ भित्रिइसकेको छ, माग पनि निकै छ ।

फलफूल बिक्री केन्द्रका साथै डोकोमा स्याउ बोकेर बेच्न हिँड्ने व्यापारी पनि मुस्ताङको स्याउ भन्दै ग्राहकलाई आकर्षित गरेका देखिन्छन् । मुस्ताङका स्याउ प्रतिकिलो रु १५० देखि १८० सम्म बिक्री भइरहेको पौडेलले जानकारी दिनुभयो । उच्च हिमाली भेगमा पाइने स्याउ मुस्ताङको मुख्य खेती हो । स्याउबाट यहाँका धेरै स्थानीयवासी राम्रो आयआर्जन गरेका छन् ।

जिल्लामा स्याउ खेतीको व्यावसायिकता भने २०२२ पछि मात्र शुरु भएकोे पाइन्छ । २०२२ सालमा तत्कालीन कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरिएको थियो ।

मार्फाका स्याउ उद्यमी ७५ वर्षीय विष्णु हिराचनका अनुसार शुरुमा प्रत्येक घरमा तीन÷तीन वटा स्याउका बेर्ना बाँडिएको थियो । मार्फामा सबै भन्दा पहिले एक रोपनी जग्गामा १५ वटा बेर्ना लगाएर आफूले व्यवसाय शुरु गरेको बताउने हिराचनले त्यसयता निरन्तर स्याउको बिक्री गर्दै २०३६ सालदेखि त्यसबाट रक्सीसमेत बनाउन थालेको जानकारी दिनुभयो ।

हिराचनको स्याउबाट रक्सी बनाउने नीलगिरि डिष्टीलरी सञ्चालनमा छ । सो डिष्टीलरीबाट वार्षिक रु एक करोड २५ लाखको स्याउको रक्सी बिक्री हुने गरेको छ नीलगिरि जस्तै स्याउको रक्सी उत्पादन गर्ने सात÷आठ उद्योग जिल्लामा सञ्चालनमा आइसकेका छन् ।

मुस्ताङस्थित घरबजोङ गाउँपालिका–५ ठिनीमा स्याउको व्यावसायिक खेती गर्दै आउनुभएका ५३ वर्षीय कर्म गुरुङ यहाँको स्याउलाई सुनखानीको उपमा दिनुहुन्छ । मुस्ताङमा स्याउखेतीको धेरै सम्भावना रहे पनि अझै त्यसको उपयोग हुन नसकेको बताउँदै उहाँले यसतर्फ आकर्षण बढाउन सके बढ्दो युवा विदेश पलायन रोकिने उल्लेख गर्नुभयो ।

गुरुङको बगैँचामा हाल पाँच हजार बोटमा स्याउ फल्छ । गतवर्ष रु एक करोडको स्याउ बिक्री गरेका उहाँले सिँचाइको राम्रो प्रबन्ध हुनसके अरु पाँच हजार बोट थप्ने तयारीमा हुनुहुन्छ । मुस्ताङको स्याउ पोखरा लगायतका बजारमा अत्याधिक माग हुने गरेको गुरुङको भनाइ छ ।

उहाँको बगैँचामा स्थायी रुपमा १२ जनाले रोजगारी पाएका छन्, भने मुख्य याममा दैनिक ५० जनालाई रोजगारी मिलेको छ । विशेषगरी पोखरा, काठमाडौंँलगायतका शहरमा असोज, कात्तिक र मङ्सिरसम्म मुस्ताङको स्याउ बिक्री हुने गर्दछ । मुस्ताङका स्थानीयवासीले अन्य सिजनमा बिक्रीका लागि स्याउको चाना काटेर सुकुटी बनाउछन् भने यसबाट रक्सी पनि तयार गर्दछन् ।

स्याउका व्यापारी साउन महीनामा नै मुस्ताङ पुगी बगैँचा हेरेर बैना गर्ने गर्दछन् । सामान्यतः तीजदेखि नै यहाँका बगैँचामा स्याउ टिप्ने काम शुरु हुन्छ । यसवर्ष तीजदेखि नै स्याउ पोखरालगायतका बजारमा पुग्न थालेको स्थानीयवासीले बताए । जिल्लामा लगभग एक हजार २०० हेक्टर क्षेत्रफलमा स्याउ लगाइए पनि हाल ४१५ हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन हुन थालेको छ ।

जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण तल्लो मुस्ताङका कोवाङ, लेते, टिटी लगायतका स्थानमा स्याउखेती विस्तारै कम हुँदै उपल्लो भेगतर्फ बढ्दै गएको पाइन्छ । जिल्लाको सम्भावनालाई दृष्टिगत गरी नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लालाई स्याउ जोन घोषणा गरी यसको विकास एवं विस्तारमा पहल थालेको छ ।

थासाङ गाउँपालिका–३, ४ र ५ वडा बाहेक जिल्लाका सम्पूर्ण क्षेत्र समेट्ने गरी स्याउ जोनको कार्यक्रम शुरु गरिएको परियोजना कार्यालय मुस्ताङका वरिष्ठ कृषि अधिकृत शम्भुबहादुर देवले जानकारी दिनुभयो ।

मुस्ताङका घरबजोङ, लोमन्थाङ, ल्हो घेकर दामोदर कुण्ड, बारागुङ मुक्तिक्षेत्र र थासाङ गरी पाँच गाउँपालिका छन् । उहाँका अनुसार अघिल्लो वर्ष जिल्लामा पाँच हजार ३०० मेट्रिक टन स्याउ फलेकामा यसवर्ष पाँच हजार ८०० मेट्रिक टन फल्ने अनुमान गरिएको छ ।

परियोजना कार्यालयले स्याउका लागि उपकरण औजार अनुदानमा दिने, बजारीकरणलगायतमा कृषकलाई सहयोग गर्ने भएको कृषि अधिकृत शिवपुजन गुप्ताले जानकारी दिनुभयो । मुस्ताङमा पाँच चुच्चे, गोल्डेन, फुजी, गल्लेगल्ले जस्ता प्रजातिका स्याउ फल्ने गरेकामा त्यसमध्ये सुनौला र पाँच चुच्चेको बजारमा बढी माग भएको व्यवसायी बताउँछन् ।

केही वर्षयता स्याउको व्यापार गर्दै आएका घाँसाका युवा व्यापारी सम्राट गौतम मुस्ताङको स्याउको बजारमा अत्याधिक माग रहेको बताउनुभयो । बजारमा ग्राहकलाई झुक्याउँदै मुस्ताङको स्याउ भन्दै अन्य स्थानका स्याउ बिक्री हुँदै गएको स्थानीय उत्पादकको गुनासो छ । रासस

प्रतिक्रिया