म्याग्दीमा नेकपाको संयन्त्र

admin

बेनी, २६ असोज  :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले म्याग्दीमा पार्टी संयन्त्र गठन गरेको छ । पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला कमिटी गठन नहुँदासम्म पार्टी गतिविधिलाई अगाडि बढाउन जिल्लादेखि स्थानीय तहसम्मको संयन्त्र निर्माण गरिएको हो ।

तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाको जिल्ला संयन्त्रको बिहीबार बसेको बैठकले जिल्लाको छ वटै स्थानीय तहमा संयन्त्र निर्माण गरेको नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

पार्टीको जिल्ला संयन्त्रमा साविकका दुवै पार्टीबाट पाँच÷पाँच जनालाई राखिएको छ । नेकपाका गण्डकी प्रदेशका सहइञ्चार्ज खगराज अधिकारी, प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डे र सचिव गोविन्द नेपालीको उपस्थितिमा बसेको बैठकले संयन्त्र गठन गरेको हो ।

जिल्ला पार्टी संयन्त्रमा साविक एमालेबाट प्रतिनिधिसभाका सांसद थापा, हरिकृष्ण श्रेष्ठ, देवेन्द्रबहादुर केसी, बालकृष्ण सुवेदी, देवबहादुर घले रहनुभएको छ भने साविक माओवादी केन्द्रबाट पूर्वसांसद गोविन्द पौडेल, शेरबहादुर केसी, रेशम जुग्जाली (सुविन), देवराज सुवेदी र टेकबहादुर विश्वकर्मा रहनुभएको छ ।

जिल्ला पार्टी संयन्त्रको पहिलो बैठकले यही असोज २९ गते विजयादशमी तथा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम तय गरेको छ । आगामी मङ्सिर ८ गते बृहत कार्यकर्ता भेला गर्ने निर्णयसमेत भएको सांसद थापाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया