यस्ता रोगबाट मुक्ति पाउन यसरी पिउनुहोस् जमराको जुस

रिता घिसिंग

काठमाडौँ : दशैंमा मान्यजनबाट टीका ग्रहण गर्दा टीका सँगै कानमा लगाइने धान, गहूँ, मकै र जौका लामा आँकुरालाई जमरा भनिन्छ । विजयादशमी र जमरा नेपाली संस्कृति एवं परम्पराका परिपूरक शब्द हुन् । ढाकाटोपीमा सिउरेको र महिलाले चुल्ठोमा सिउरेको जमराले नेपालीको धार्मिक आस्था एवं सांस्कृतिक एकतालाई प्रतिबिम्वित गराउँदै आएको छ । घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी त्यसमा पनि नेपालीको मात्र हो ।

जमराका फाइदाः
जमराको जुस सेवन गर्नाले स्वास्थ्यमा निकै फाइदा गर्छ । खासगरी मुख तथा दाँतसम्बन्धी समस्या हटाउन, रगतमा चिनीको मात्रा नियन्त्रित गर्न, पाचन यन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उपयोगी हुन्छ । त्यसका साथै कतिपय छालाको समस्या र केसको समस्यामा पनि गहुँको जमरा लाभदायक हुन्छ ।
गहुँको जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । साथै यसबाट रस निकालेर पिउन पनि सकिन्छ । गहुँको जमराको जुस बनाएर पिउँदा स्वादिलो हुन्छ ।

जमराको जुसको उपयोगिता
आठदेखि दश वटा गहुँको जमरा जरामै काटेर राम्ररी धुने अनि यसलाई कुटेर रस निकाल्ने ।
अब एक सफा कपडामा त्यसलाई राख्ने र निचोर्ने । निचोरेको रस कुनै गिलासमा राख्ने ।
यो जुसमा थोरै तुलसीको रस चुहाइदिन सकिन्छ । साथै मह र अदुवा पनि मिश्रण गर्न सकिन्छ ।
यो जुसमा थोरै पानी मिसाउनुहोस् । अब जुस पिउन सकिनेछ ।

कति पिउने ?
यदि तपाई कुनै रोगबाट ग्रसित हुनुहुन्छ भने दिनमा दुई पटकसम्म तीसदेखि पचास एमएल जुस पिउनुहोस् ।
सुरुमा गहुँको जमराको रस थोरै पिउने र क्रमस मात्रा बढाउँदै लाने ।
एक हप्तामा कम्तिमा पाँच दिन यसको सेवन गर्नुपर्छ ।
जमारा दशैंको बेलामा मात्र उमार्नुपर्छ भन्ने छैन । स्वास्थ्यका हिसावले यति धेरै फाइदा पुग्ने भएपछि त जमारा सधै उमारेर यसको प्रयोग गर्न सकिन्छ । यसकालागि घामको किरण नपर्ने स्थानको प्रयोग जरुरी छ ।

प्रतिक्रिया