राष्ट्रपति भण्डारीलाई नयाँ राजाको संज्ञा दिँदै सामाजिक संजालमा आलोचनाको वर्षा !

रिता घिसिंग

कात्तिक ५, काठमाडौं : सामाजिक संजालमा यतिबेला दशैँको चर्चा चलिरहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दशैँको टीका प्रदान गर्ने क्रममा गरेको भेदभावको आलोचना सामाजिक संजालमा भैरहेको छ ।

तस्बिर : सामाजिक संजाल

आलोचना गर्नेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सूर्य थापा पनि छन् । उनले जनताले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई असर पर्ने गरेर राष्ट्रपतिबाट व्यवहार भएको भन्दै आलोचना गरेका छन् । उनले राष्ट्रपतिका सल्लाहकार र सहयोगीहरूप्रति आफ्नो आक्रोश अलि धेरै पोखेका छन् ।

‘संयोगवशः उहाँ हुनुहुँदोरहेछ पदमुक्त पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली ! उहाँले नै महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोस्रोपटक राष्ट्रपति चयन हुनुभएपछि पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो । चर्चित मानवअधिकारकर्मी सुशील प्याकुरेल राष्ट्रपतिज्यूका सल्लाहकार हुनुहुन्छ भने आधुनिक कानूनमा विद्यावारिधि उपाधियुक्त डा. भेषराज अधिकारी स्वकीय सचिव । अनि जनताकी छोरी विद्या भण्डारी दोस्रो कार्यकाल राष्ट्रपति । नागरिकलाई यो आसनमा बडादशैंको टीका ? संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुरुप एवं गणतान्त्रिक चेतना, संस्कार र संस्कृति मुताविक भएन । आजीवन हसिया हथौडा अंकित झण्डामुनि क्रियाशील, नेपाली महिला सशक्तिकरण अभियानकी प्रेरणादायी नेतृ र कम्युनिस्ट पार्टीबाट निर्वाचित राष्ट्रपतिज्यूलाई यसरी विवादमा तान्ने परम्पराको अभ्यास गराउने को हो ? नागरिक हैसियतको यसरी हुर्मत लिने गरी राष्ट्रप्रमुखलाई विवादित बनाउने रवैया मान्य हुनसक्दैन । किनभने, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सबै तहका जनप्रतिनिधिहरू जननिगरानी अन्तर्गत नै रहेको हेक्का राखिनु मनासिव होला’, नेकपाका केन्द्रीय सदस्य थापाले फेसबुकमा स्टाटस लेखेका छन् ।

सामाजिक सञ्जालमा व्याकुल पाठकले लेखेका छन्, ‘एउटा सानो स्टुलको व्यवस्था गरिएको भए सार्वभौमसत्ता सम्पन्न जनता जनार्दन’ले यसरी घुँडा टेक्नु पर्दैन थियो कि !’ आखिर राष्ट्रपति महोदयालाई थाहा नभएको त होइन रैछ नि, प्रधानमन्त्री तथा उपराष्ट्रपतिका लागि चाहिँ राम्रो कुर्सीकै जोहो गरिएको रहेछ ! नेपाली नागरिक बने भन्नु त भ्रम मात्र रहेछ । जनताबाट नागरिक बन्नु त कता हो कता अझै ‘प्रजा’ युग नै समाप्त भइसकेको रहेनछ !’

व्याकुल पाठकले सामाजिक सञ्जालमा पोस्ट गरेको राष्ट्रपति भण्डारीले एक व्यक्तिलाई घुँडा टेकाएर लगाइदिएको तस्बिर र स्टाटस धमाधम सेयर भएका छन् ।

यसै क्रममा पत्रकार रबि लामिछाने लेख्नुहुन्छ ‘रैती नै हुन रुचाउने चाकडिवाज र राजा रानी नै हुन रुचाउने नव-महाराज/महारानीहरु जो घुडा टेक्छन/टेकाउछन,गणतन्त्र नेपालमा पनि जनताको बाटो रोकेर सवारी चलाउछन। म चाहिँ अब कसैले सवारी भन्दै बाटो रोक्यो भने मरिगएपनि रोकिन्न। रा प को “सवारी” चल्दा जनताले हिड्न पाउदैनन् भन्ने कुरा संविधानमै लेख्या भए समातेर थुन्नु। लाजको पसारो…

दशैँको टीका प्रदान गर्ने बेलाको यो तस्बिरलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका बेला राष्ट्रपति कार्यालय मौन छ ।

कतिपयले सामाजिक सञ्जालमा राष्ट्रपति भण्डारीलाई नयाँ राजाको संज्ञा दिएका छन् । उनीहरूले राजाको शासनका बेला पनि जनतालाई घुँडा टेकाएर कहिल्यै पनि दशैँको टीका नलगाएको लेखेका छन् ।

प्रतिक्रिया