लागुऔषध नियन्त्रण चुनौतीपूर्ण

admin

नेपालगञ्ज, ५ कात्तिक : बाँके जिल्लामा लागुऔषधको सेवन र ओसारपसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकामा चिन्ता व्यक्त गर्न थालिएको छ ।

जिल्लामा लागुऔषधका सेवनकर्ता र कारोवारीलाई बेलाबखत प्रहरीले पक्राउ गरे पनि नतिजा सन्तोषजनक नभएकाले अहिले जिल्लालाई लागुऔषध मुक्त बनाउन र दुव्र्यसनीलाई पुनःस्थापना गर्न प्रहरी प्रशासनले सतर्कता बढाएको छ । उक्त कार्यका लागि सीमा नाकामा जाँचमा कडाई गर्नुका साथै दुव्र्यसनीका लागि विभिन्न सङ्घसंस्थाले पुनःस्थापनाका कार्यक्रम पनि सञ्चालन गरेपनि लागुऔषध कारोवार र सेवनकर्ताको सङ्ख्यामा कमी नआएको सरोकारवाला निकायका पदाधिकारी बताउँछन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल भन्नुहुन्छ “ लागुऔषध सेवन र कारोवार नियन्त्रणका लागि प्रहरीले सामाजिक संस्था, नागरिक समाजसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गरिरहे पनि नियन्त्रणको प्रयासअनुसारको नतिजा भने आउन सकेको छैन ।” चालू आर्थिक वर्षको अहिलेसम्म उक्त कार्यालयले २२९ लागुऔषध सेवनकर्तालाई पक्राउ गरेको छ । जिल्लामा खुला सिमाना भएका कारण लागुऔषध नियन्त्रण चुनौतीपूर्ण भए पनि केही महत्वपूर्ण सफलता हासिल भएको उहाँको भनाइ छ ।

नेपालगञ्जस्थित साहारा हाउसले चालू आवको अहिलेसम्म १५० जनालाई पुनःस्थापना गरिसकेको उक्त हाउसका कार्यकारी प्रमुख अभिराज क्षेत्री बताउनुहुन्छ । उहाँका अनुसार सानैदेखि बालबालिकालाई पारिवारिक वातावरण दिन सकियो भने धेरै हदसम्म युवालाई लागुऔषधको कुचक्रबाट टाढा राख्न सकिन्छ । रासस

प्रतिक्रिया