वडा कार्यालयको तालाबन्दी एक साता पछि खोल्यो

admin

कञ्चनपुर, ४ कात्तिक: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ४ को कार्यालयमा नगरस्तरीय दलित जनजाति संयुक्त सङ्घर्ष समितिले एक साताअघि गरेको तालाबन्दी आज खोलिएको छ । नगरपालिकाका नगर प्रमुख दीलबहादुर ऐर, वडा अध्यक्ष, सुरक्षा नियकायका प्रतिनिधि र सङ्घर्ष समितिका पदाधिकारीबीच दुई बुँदे सहमतिपश्चात् ताला खोलीएको हो ।

राष्ट्रिय माध्यमिक विद्यालयमा रिक्त दरबन्दीमा शिक्षक सरुवाका विषयमा विवाद हुँदा दलित सङ्घर्ष समितिले वडा कार्यालयमा तालाबन्दी गरेको थियो । “शिक्षक सरुवाका लागि नगरपालिकाको कार्यपालिका र नगरशिक्षा समितिले कार्य अगाडि बढाउने र सहजरुपमा सेवा उपलबध गराउनका लागि ताला खोल्ने निर्णय गरेको छ”, वडा अध्यक्ष ज्ञानबहादुर विष्टले भन्नुभयो ।

“नपाका विषयगत कार्यालयमा संविधानमै व्यवस्था भएको समानुपातिक समावेशीताको कुरा लागू नभएपछि तालाबन्दी गरेका हौँ”, सङ्घर्ष समितिका सदस्य सिवी लुहारले भन्नुभयो । नगरपालिकाका नगर प्रमुखले समावेशीताको कुरा लागू गर्ने प्रतिबद्धता जनाए पछि तालाबन्दी खोलिएको उहाँले बताउनुभयो । छलफलपश्चात् वडा कार्यालयमा लगाइएको ताला सङ्घर्ष समितिका अध्यक्ष गोविन्द नेपाली आफैँले तोडेका छन् । वडा नं ४ मा रहेको दलित शिक्षकको सरुवाको विषयलाई लिएर गत असोज २८ गते सङ्घर्ष समितिले दोस्रो पटक तालाबन्दी गरेको हो । त्यसअघि लगाइएको ताला जनप्रतिनिधिको रोहवरमा तोडिएको थियो ।
-रासस

प्रतिक्रिया