वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट सेवा शुरु

admin

काठमाडौँ, २४ असोज : सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट स्वास्थ्य सेवाको शुरुआत गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सो स्थानबाट आजदेखि बहिरङ्ग स्वास्थ्य सेवा (ओपिडी) सेवा शुरुआत गरेको हो । अस्पतालका निर्देशक प्राडा भुपेन्द्र बस्नेतले सो स्थानमा न्याम्सले वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्न अत्याधुनिक भौतिक संरचना तयार गर्न स्वीकृतसमेत दिएको जानकारी दिनुभयो । ओपिडी सेवा बिहान ९ देखि ५ बजेसम्म हुने उहाँले बताउनुभयो ।

थप उपचार गर्नु परेमा वीर अस्पतालमा अर्काे टिकट लिन नपर्ने व्यवस्थासमेत अस्पतालले गरेको छ । स्वास्थ्य मन्त्रालयले न्याम्सलाई सो स्थानमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्न भौतिक संरचना गर्न करीब ५७० रोपनी जमीन उपलब्ध गराएको थियो । निर्देशक प्राडा बस्नेतले भन्नुभयो, “ओपिडी सेवा प्रदान गर्न एक जना मेडिकल अफिसर, नर्स, अहेबसहित आवश्यक कर्मचारी व्यवस्था गरेको छौँ । आवश्यकताअनुसार विभिन्न विधाका विशेषज्ञ चिकित्सकले सेवा दिनुहुन्छ । आवश्यकताअनुसार उपकरणको व्यवस्था गर्दछौँ ।”

पछिल्लो समय स्वास्थ्य मन्त्रालले वीर अस्पतालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विस्तारलाई उच्च प्राथमिकता दिँदै आएको छ । सो स्थानमा भौतिक संरचनालगायत कामको शुरुआत गर्न मन्त्रालयले न्याम्सको गुरुयोजनाअनुसार रु ३० करोड विनियोजनसमेत गरेको छ । वीर अस्पतालले सो स्थानमा एक हजारदेखि एक हजार ५०० सम्मको श्ययाको अस्पताल, नर्सिङ, औषधि पसल, चिकित्सा शिक्षाका लागि कलेज, आवास गृहलगायत पूर्वाधार तयार गर्दैछ । साथै सरकारीस्तरमा पहिलो पटक हेलिप्याडको सुविधासमेत रहने निर्देशक प्राडा बस्नेतले जानकारी दिनुभयो । मन्त्रालयले आगामी पाँच वर्षभित्रमा भौतिक संरचनाका काम सम्पन्न गर्ने अति महत्वकाङ्क्षी योजना बनाएको छ ।

शल्यक्रिया भवन छुट्टै
वीर अस्पतालले अत्याधुनिक शल्यक्रिया भवन छुट्टै निर्माण गर्दैछ । अस्पताल हाताभित्र रहेको सो भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७४ फागुन २५ गते सो भवनको शिलान्यास गर्नुभएको थियो ।

नौ तलाको अत्याधुनिक सो भवनभित्र १५ वटा चिकित्सा विज्ञानका अत्याधुनिक शल्यक्रिया (अपरेश थिएटर) रहनेछन् । यसैगरी पोस्ट अपरेटिभ, ४० श्ययाको सर्जिकल अति सघन कक्ष र पुस्तकालय रहनेछन् । साथै ज्येष्ठ नागरिक तथा अपाङ्ग तथा बिरामी कुरुवा मैत्री भवन बन्नेछ । नेपाल सरकारको रु तीन अर्ब ८५ करोडको लागतमा सो भवन विसं २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । तर भवनको निर्माण कार्य अति सुस्त गतिमा रहेको देखिन्छ ।

विसं १९४७ मा १५ श्ययाबाट सेवा दिन शुरु गरेको वीर अस्पतालको हालको क्षमता ४५० श्ययाको रहेको छ । अर्काेतर्फ न्याम्सले छिट्टै ६५० श्ययाको मेडिकल भवन निर्माण कार्य शुरु हुने तथा सय श्ययाको विशिष्ट प्रकारको विशेषज्ञ मेडिकल भवन जापान सरकारको आर्थिक सहयोगमा शुरु भइसकेको जनाएको छ ।

प्रधानमन्त्री ओलीले शिलान्यास समारोहमा सरकारी अस्पतालले भन्दा निजी अस्पतालले दिने सेवा राम्रो हुन्छ भन्ने आम जनमानसमा रहेकामा नाक ठोकिएको प्रसङ्ग उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा गम्भीर भएर सेवा दिन चिकित्सकलाई आग्रह गर्नुभयो उहाँले भन्नुभएको थियो, “देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने, एउटा खुट्टा बिरामी छ अर्काेको उपचार गर्ने ? यो तहको चिकित्सा सेवाले कहाँ पु¥याउँछ ? यस प्रकारको हेलचेक्र्याईं दोहोरिन भएन, चिकित्सक र सिङ्गो चिकित्सा क्षेत्र गम्भीर बन्नुप¥यो ।”
-रासस

प्रतिक्रिया