शेयरको मूल्यमा सामान्य वृद्धि

रिता घिसिंग

काठमाडौँ, १६ असोज : धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दुई दशमलव ६९ बिन्दुले बढेर एक हजार २४१ दशमलव ३६ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ६५ बिन्दुले बढेर २६३ दशमलव ४५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा वृद्धि भए पनि कारोवार रकममा भने गिरावट आएको छ । कूल १७१ कम्पनीको १५ लाख ९३ हजार ७०० कित्ता शेयर रु ४५ करोड १९ लाख ९३ हजार ४८५ मूल्यमा खरीद बिक्री भएको स्टकले जनाएको छ ।

कूल एघार उपसमूहमध्ये आज छ उपसमूहको शेयरमा वृद्धि भएको छ भने पाँच उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ एक दशमलव ६३, व्यापार एक दशमलव ६९, निर्जीवन बीमा १२ दशमलव १५, अन्य ७ दशमलव ७७, माइक्रोफाइनान्स तीन दशमलव शुन्य आठ र जीवन बीमा १४ दशमलव ६२ बिन्दुले बढेको छ ।

यस्तै होटल शुन्य दशमलव २९, विकास बैंक शुन्य दशमलव ४४, जलविद्युत् दुई दशमलव ९१, फाइनान्स एक दशमलव शुन्य एक र उत्पादन पाँच दशमलव ६८ बिन्दुले घटेको छ । नाडेप लघुवित्त वित्तीय संस्था, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले क्रमशः नौ प्रतिशत र पाँच प्रतिशतका दरले कमाएका छन् भने भार्गव विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका शेयरधनीले क्रमशः नौ र चार प्रतिशतका दरले गुमाएका छन् ।

यस्तै आज स्टकमा आरएसडिसी लघुवित्त वित्तीय संस्थाको २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । जानकी फाइनान्स लिमिटेडको शेयर मूल्यमा समायोजन गरिएको छ । सो कम्पनीको २२ प्रतिशत बोनस शेयर समायोजन गरेपछि आधारभूत मूल्य रु २०७ तोकिएको छ ।
–रासस

प्रतिक्रिया