शैक्षिक सत्र शुरु भएको आठ महिना वितिसक्दा पनि सामाजिक शिक्षाको पढाइ भएन

मनिषा थापा

सोलुखुम्बु, २ मङ्सिर (रासस)  :  यहाँको एक माध्यमिक विद्यालयमा शैक्षिक सत्र शुरु भएको आठ महिना बितिसक्दासमेत सामाजिक शिक्षा विषयको पढाइ शुरु भएको छैन ।

लिखुपिके गाउँपालिकामा रहेको हिमगङ्गा माध्यामिक विद्यालय चौलाखर्कमा सामाजिक विषय शिक्षक नहुँदा पठनपाठननै प्रभावित भएको छ । विद्यालयले शिक्षकको व्यवस्थापन गर्न नसक्दा पढाइमा असर परिरहेको विद्यार्थी उमेश बस्नेतले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो एसइईको समय भइसक्यो तर एउटा पनि पाठ पढाइ भएकै छैन ।”

सम्बन्धित निकायमा जानकारी दिँदा पनि कुनै सुनुवाइ नभएको अर्का विद्यार्थी कृष्ण बस्नेतको भनाइ छ । एसइई आउन करीब तीन महीना बाँकी हुँदा समेत पढाइ नहुनु विद्यालय प्रशासनको लापाबाही भएको विद्यार्थीको आरोप छ ।

विद्यालयका प्रधानाध्यापक सत्यनारायण सिंहले शिक्षकको खोजि भइरहेको र एक साताभित्रै समस्या समाधान हुने जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमध्वज बस्नेतले शिक्षक खोजेर देखिएको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया