हिमालयन ह्वाइट हाउस र लिटिल बुद्ध सेमिफाइनलमा

admin

धनगढी, २ मङ्सिर : ‘तेस्रो निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगमा’ काठमाडौँको हिमालयन ह्वाइट हाउस र कञ्चनपुरको लिटिल बुद्ध एकेडेमी सेमिफाइनल प्रवेश गरेका छन् । आज सम्पन्न खेलमा लिटिल बुद्धले काठमाडौँको मोक्षदा स्कुललाई ८२ रनले हरायो । टस हारेर ब्याटिङ गरेको लिटिल बुद्धले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७८ रन बनायो । उसका लागि रोशन साउद र सुशील खड्काले ४६÷४६ रन बनाए । हेमन्त कार्कीले ३०, नारायण जोशीले १८ र हेमन्त धामीले १६ रन बनाए । बलिङतर्फ मोक्षदाका सुवोधप्रसाद ढुङ्गेलले तीन तथा विपिन खत्री र रोशन पुलामी मगरले एक÷एक विकेट लिए ।

एक सय ७९ रनको विजयी लक्ष्य पछ्याएको मोक्षदाले आठ विकेट गुमाउँदै मात्र ८१ रन बनायो । मोक्षदाका लागि सन्दिप बिष्टले ३४ र रोशन पुलामी मगरले अविजित २५ रन बनाए । बलिङतर्फ लिटिल बुद्धका विवेक यादव र रोचक ऐरले दुई÷दुई तथा हेमन्त धामी र हेमन्त कार्कीले एक÷एक विकेट लिए । लिटिल बुद्धका हेमन्त कार्की म्यान अफ द म्याच भए ।

अर्को खेलमा काठमाडौँको हिमालयन ह्वाइट हाउसले कैलाली मोडल स्कुललाई ११० रनले हरायो । टस जितेर ब्याटिङ गरेको हिमालयन ह्वाइट हाउसले ६ विकेट गुमाउँदै १७९ रन बनायो । उसका लागि अङ्कित सुवेदीले ४३ बलमा दुई छक्का र १० चौकाको मद्दतमा ७६, फिरोज अन्सारीले अविजित ३२, अमित यादवले १६ तथा रमेश भट्ट र सञ्जय श्रेष्ठले समान १३÷१३ रन बनाए ।

बलिङतर्फ कैलाली मोडलका कैलाश खत्रीले तीन तथा अजय विष्ट र सुबोध ऐरले एक÷एक विकेट लिए । कैलाली मोडलले नौ विकेट गुमाउँदै ६९ रन बनायो । हिमालयनका लागि फिरोज अन्सारी, अमृत सिंह र सुशान्त सिंहले दुई÷दुई विकेट लिए । हिमालयनका अङ्कित सुवेदी म्यान अफ द म्याच भए । यसअघि कैलालीको सिद्धार्थ शिशु सदन र लिटिल फ्लावर स्कुल धनगढी सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

प्रतियोगिताको विजेताले रु एक लाख ११ हजार १११ र उपविजेताले रु ५५ हजार ५५५ का साथै ट्रफी पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु १० हजार, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले रु पाँच÷पाँच हजार पुरस्कार पाउनेछन् । संस्कार क्रिकेट एकेडेमी धनगढी र निष्ट कलेज लैनचौरले आयोजना गरेको प्रतियोगितामा देशभरमा १२ टिम सहभागी छन् ।
-रासस

प्रतिक्रिया