६ महिनाको दुधे बालक छाडेर श्रीमती एलिजाले खेलेको अनुराग फिल्म हेर्न सबैलाई ऋषि धमलाको आग्रह [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

काठमाडौँ, असोज १२ गते (शुक्रबार) बाट देशैभरि प्रदर्शनमा आउने सांगीतिक लभ स्टोरी कथामा बनेको चलचित्र ‘अनुराग’ का प्रस्तुतकर्ता ऋषि धमलाले आफ्नो चलचित्र हेर्न आम दर्शकसमक्ष आग्रह गरेका छन् । धमलाले आफूले निर्माण गरेको चलचित्र युवा पुस्ताहरुको ढुकढुकी बन्ने दाबी समेत गरेका छन् । “ऋषि धमलाको फिल्म भएकोले अहिले देशव्यापी रुपमा यो चलचित्र हेर्ने माहोल बनेको छ,” उनले भने ।

फिल्मकी नायिका एलिजा गौतमकै अघि पत्रकार धमलाले उनको अभिनयको खुलेर प्रशंसा गरे । उनले भने, “एलिजा ६ महिनाको बच्चा आमा हुँदा पनि यो फिल्मको सुटिङमा थिइन् । उनको अभिनय पनि अब्बल दर्जाको छ । एलिजासँगै यो चलचित्रमा सरोज खनाल, रुपा राणा, राजाराम पौडेलदेखि बाल कलाकारसम्मको जबरजस्त अभिनय छ । अनुरागमा माया छ, प्रेम छ, विछोड छ । यहाँ सबैको समिश्रण छ । अनुरागमा के छैन ?”

धमलाले आफ्नो चलचित्र ८० वर्षका वृद्ध आमा–बुवादेखि ५ वर्षसम्मको बालबालिकाहरुले हेर्न मिल्ने खालको भएको पनि विश्वास दिलाए । धमलाले थपे, “मेरो चलचित्रमा समाजले पचाउने खालको दृश्यहरु छन् ।”

फरक प्रसंगमा धमलाले आफूले दुई दशकको पत्रकारिताको इतिहासमा कहिल्यै पनि अस्वस्थ प्रतिष्पर्धा नगरेकोले फिल्म क्षेत्रमा पनि आफूले अस्वस्थ प्रतिष्पर्धा नगर्ने वचनबद्धता गरे । उनले भने, “म चलचित्र जगतमा पनि स्वस्थ प्रतिष्पर्धा चाहन्छु । हामीले अनुरागको रिलिजिङ डेट आजभन्दा तीन महिना अघि नै सार्वजनिक गरेका हौं । असोज १२ गते हाम्रो मुभी देशैभरि प्रदर्शनमा आउँदैछ । अब त्यो दिन अरु पनि मुभी रिलिज हुँदैछन् । ऋषि धमला भागेर पछि हट्दैन ।”

धमलाले आफ्नो चलचित्रमा हँसाउनेदेखि रुवाउनेसम्मको स्टोरी रहेकोले हलमै गएर हेर्न आम दर्शकहरुलाई आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा उनले भावुक हुँदै भने, “म अनुराग चलचित्रमा किन आएँ ? किनकी मलाई माया गर्ने धेरै हुनुहुन्छ । तपाईहरुलाई मेरो विगत पनि राम्रोसँग थाहा छ, र वर्तमान पनि । यो चलचित्र निर्माण भएको दिनदेखि नै यसले ठूलो चर्चा तथा परिचर्चा पाएको छ ।”

धमलाले अनुराग अहिलेको पुस्ताको लागि नयाँ टेष्ट हुने भन्दै यो युवाहरुकै प्रतिबिम्ब पनि भएको जिकिर गरे । उनले भने, “चलचित्र निर्माता नयाँ, कथा नयाँ, हिरो तथा हिरोईन नयाँ, निर्देशक नयाँ, सबै नयाँ भएकोले दर्शकहरुले माया गरिदिनुहुन्छ भन्ने मेरो विश्वास छ । किनकी अहिलेको पुस्ताले नयाँ टेष्ट चाहेको छ ।”

कार्यक्रममा चलचित्रकी नायिका एलिजा गौतमले पनि आफ्नो “डेब्यु” चलचित्र भएको सुनाउँदै सबैलाई यो चलचित्र हलमै गएर हेर्न आग्रह गरिन् । उनले भनिन्, “हामीले यो चलचित्रको बारेमा धेरैभन्दा धेरै दर्शकसामू पु¥याउन कोशिस गरेका छौं । हाम्रो चलचित्र रिलिज हुन अब जम्मा २ दिन बाँकी छ । शुक्रबार अल नेपाल प्रदर्शनमा आउँदैछ ।”

मुभी म्युजिकल लभ स्टोरी भएकोले अहिलेको पुस्ताले मन पराउने उनको विश्वास छ । उनले भनिन्, “हाम्रो चलचित्रमा टिपिकल लभस्टोरी छ । परिवारका पूरै सदस्यले एकसाथ बसेर हेर्न मिल्ने चलचित्र छ । सबैले इन्जोय गर्नुहुन्छ ।”

फरक प्रसंगमा उनले नेपालमा हप्तामा चारवटा चलचित्रहरु एकसाथ रिलिज गर्नु दुःखद रहेको टिप्पणी गरिन् । उनले हप्तामा कम्तिमा एउटामात्रै चलचित्र प्रदर्शनमा ल्याउनुपर्ने सुझाव दिइन् ।

चलचित्रका नायक सुमन्द्र पण्डितले पनि चलचित्र अनुराग युवा पुस्ताहरुको लागि नयाँ टेष्ट बन्ने दाबी गरे । उनले भने, “लगानीकर्ता, निर्देशक, हामी कलाकार सबै नयाँ छौं । हामीले नयाँ टेष्ट दिन खोजेका छौं । एकचोटी हलमै गएर यो चलचित्र हेरिदिन म आग्रह गर्दछु ।”

चलचित्रका संगीतकार सरोज पोखरेलले अनुरागमा ५ वटा गीत रहेको जनाए । गीतमा सुगम पोखरेल, प्रताप दास, ताराप्रकाश लिम्बु, अञ्जु पन्त र ममता गुरुङको स्वर रहेको उनले जानकारी दिए ।

कार्यक्रममा चलचित्रका सह–नायक थिलेन लामाले टिमवर्कमा चलचित्र धेरै राम्रो बनेको बताउँदै अहिलेको युवापुस्ताले मन पराउने विश्वास दिलाए । नायिका एलिजा गौतमले दुई वटा बच्चाकी आमा भएर पनि चलचित्रमा जबरजस्त र जीवन्त अभिनय गरेर उदाहरणीय काम गरेको भन्दै उनको प्रशंसा गरे । बाल कलाकारद्धय सुरज खड्का र शिवानी घतानीले पनि चलचित्र हलमै गएर हेरिदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू