काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपाल बाहेक एकीकृत समाजवादीका सवै नेतालाई एमालेमा स्वागत गर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी सहितका पत्रकारलाई शुक्रबार प्रेस चौतारी नेपालमा भित्राउदै पोखरेलले माधव नेपालले एमाले फुटाएर माधव नेपालले ठूलो गल्ती गरेको भन्दै उहाका लागि एमालेको ढोका खुला नभएको बताउनुभएको हो ।
माधव नेपालले एमालेबाट अलगिएर जीवनको सबैभन्दा ठुलो भुल गरेको समेत उहाले बताउनुभयो । नेतृत्वले जनताको भावनालाई बुझ्न नसक्दा बेला बखतमा दुर्घटना हुने गरेको उहाँको भनाइ छ । त्यही दुर्घटनामा माधव नेपाल पनि परेको पोखरेलले स्पष्ट पार्नुभयो ।
एमाले भित्र लामो जीवन बिताएका र योगदान गरेका नेता कार्यकर्ताले आफ्नो भविष्य सुरक्षित गर्ने हो भने समाजवादीमा अलमलिन नहुने उहाँले बताउनुभयो । त्यस्तै उहाले सरकारले दल विभाजनको अध्यादेश ल्याउला र आफ्नो पार्टी सकिएला भन्ने चिन्ता माधव नेपाललाई भएको बताउनुभयो । महासचिव पोखरेलले देशका पक्षमा उभिएको कारण केपी ओली माथि आक्रमण भएको र ओलीमाथिको आक्रमण मुलुकमाथिको आक्रमण भएको तर्क गर्नुभयो ।
कार्यक्रममा एकीकृत समाजवादीको जनवर्गीय संगठन समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीसंगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी लगाएतको केहि केन्द्रीय सदस्यहरु प्रेस चौतारीमा फर्किएका थिए ।